नेपालीको महत्वपूर्ण चाड दसैँँले सबैलाई छोएको छ । सहरमा बस्ने गाउँघरतिर गएका छन् । विदेशमा भएका स्वदेश फर्किएका छन् । आज दसैँँको नवौ दिन अर्थात् महानवमी । यस्तो दिनमा समेत चाडबाड नभनी मुलुक निर्माणको अभियानमा केन्द्रीत गर्नेहरु पनि यही बेला सक्रिय छन् ।
चाडबाड पनि नभनी आफ्नो मन्त्रालय मातहतको आयोजनाको अवस्था के छ भनेर बुझ्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई आज दिनभर भैरहवा आसपासमा सक्रिय रहे । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र अन्तरराष्ट्रिय बुद्धिस्ट कन्फरेन्स तथा मेडिटेसन हलको स्थलगत निरीक्षणमा उनी व्यस्त भए ।
सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ । २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको सो विमानस्थललाई सकेसम्म चाँडै सम्पन्न गर्ने सरकारको लक्ष्य छ ।
विमानस्थलको काम के भइरहेको छ, अवस्था के छ भन्ने कुराको जानकारी लिन मन्त्री भट्टराई नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल, इन्जिनियर प्रदीप अधिकारीसहितको टोली लिएर आज निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पुगेका हुन् । मध्य दसैँँमा पनि विमानस्थल निर्माणको काम चलिरहेको छ, अरु दिन जस्तै ।
मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल साँघुरो भएका कारण विकल्पका रुपमा गौतमबुद्ध विमानस्थल निर्माण सुरु गरिएको हो ।
पुरानो तालिका अनुसार यही असोज महिनाभित्रै पूर्णरुपमा सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि काम गर्दै जाँदा थप केही समय लागेको छ, गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सम्पन्न गर्न । विशेष गरी शान्तिका अग्रदूत भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनी आउन चाहने पर्यटकलाई केन्द्रमा राखेर सो विमानस्थल निर्माण गरिएको हो ।
यही असोज ५ गते बसेको राष्ट्रिय समस्या समाधान समितिको ४६औँ बैठकमा पेस भएको विवरणअनुसार सो विमानस्थलको कुल भौतिक प्रगति ८० प्रतिशतको हाराहारीमा पुगेको छ । तोकिएको समयमा नै काम भएको खण्डमा राष्ट्रिय गौरवका आयोजनामध्ये सबैभन्दा पहिले पूरा हुने आयोजनाको रुपमा सोही आयोजना देखिएको छ ।
आगामी पुसभित्र निर्माण सक्ने लक्ष्यमा मन्त्रालय छ । सोही लक्ष्यअनुसार काम भइरहेको छ । आगामी चैतदेखि त व्यवसायिक उडान नै गर्ने लक्ष्य तय गरिएको छ ।
विमानस्थलको भौतिक निर्माणका काम करिब करिब अन्तिम चरणमा पुगेका छन् । यस्तै सूचना तथा सञ्चारसँग जोडिएका उपकरण आउने क्रममा नै छन् । ब्यागेज ह्यान्डिलिङ सिस्टमको डीएचएस र लिफ्टका सामान सिंगापुरबाट आउने चरणमा छन् । चीनबाट ल्याउनुपर्ने केही सामान आइसकेको छ । सेन्ट्रल एसी र लाइटको सामान चीनबाट आयात भई जडानको क्रममा छन् । यस्तै धावनमार्गमा राखिने बत्तीको काम भइरहेको छ ।
आयोजनामा चिनियाँ ठेकेदार ‘नर्थवेष्ट सिभिल एभिएसन’ले काम गरिरहेको छ । लामो समय विवादको घेरामा परेको सो विमानस्थल निर्माणलाई पूर्वमन्त्री रवीन्द्र अधिकारीले एउटा ‘ट्रयाक’मा ल्याएका थिए ।
नियमित अनुगमन, परामर्श एवम् सक्रियताले आयोजनाको कामले गति लिएको हो । अधिकांश ठूला आयोजना समस्यामा परेको बेला सरकारको सकारात्मक प्रयासले उक्त विमानस्थल निर्माणको अन्तिम चरणमा पुगेको छ ।
कूल ४५ मिटर चौडाइ र तीन हजार मिटर लामो धावनमार्ग पनि निर्माण भइसकेको छ । निर्माणाधिन विमानस्थलमा छ वटा जहाज पार्किङ गर्न सकिने एप्रोन निर्माण सकिएको छ । जहाज धावनमार्गतर्फ निस्कने तीनवटा ट्याक्सी वे, छ तले कन्ट्रोल टावर, यात्रु आवतजावत गर्ने टर्मिनल भवन र विमानस्थलको प्रशासनिक भवन निर्माण करिब सकिनै लागेको छ ।
बाँकी रहेको कामलाई सम्पन्न गर्न, साजसज्जा तथा अन्य भित्री काम गर्न, उडान तथा अवतरणको निम्ति आवश्यक उपकरण जडानसहितको एरोनटिकल इलेक्ट्रिकको काम केही बाँकी छ ।
एसियाली विकास बैंकको ऋण सहयोगमा यो विमानस्थल दक्षिण एसिया पर्यटन पूर्वाधार विकास आयोजनामार्फत निर्माण गरिएको हो । कुल सात करोड अमेरिकी डलर लागतको सो विमानस्थल निर्माणका लागि एडीबीले ४० दशमलव ५ प्रतिशत ऋण र १८ प्रतिशत अनुदान दिएको छ । ओपेक फन्ड फर इन्टरनेसनल डेभलपमेन्टको ३० दशमलव ५ प्रतिशत ऋण र प्राधिकरणको ११ प्रतिशत लगानी छ ।
सो विमानस्थल सञ्चालनका लागि ‘जि टु जि’को अवधारणा अगाडि सारिएको छ । सोहीअनुसार जर्मनी कम्पनी म्युनिखलाई दिने तयारी गरिएको छ । यसै सन्दर्भमा आफ्ना मन्त्रालय मातहतका आयोजनाको अवस्था के छ ? कसरी काम भइरहेका छन् ? तोकिएको समयमा पूरा हुन्छ कि हुँदैन ? समस्या के के छन् ? ती समस्यालाई कसरी समाधान गर्न सकिन्छ ? भन्ने चासोका साथ आफू भैरहवा पुगेको मन्त्री भट्टराईको भनाइ छ ।
उनले काम सकिन लागेपछि केही नयाँ नयाँ खालका समस्या देखापरेको र त्यसलाई समाधान गर्न आफूले निर्देशन दिएको जानकारी दिए । उनले भने, मैले विभिन्न १९ वटा विषयमा के कसो भएको हो, समाधान कसरी गर्न सकिन्छ भन्ने बारेमा कार्यालय खुलेको तीन दिनभित्र मन्त्रालयमा पेश गर्न निर्देशन दिएको छु ।
विमानस्थलको भौतिक निर्माण सकिन लागेको भएपनि केही सामान भन्सारमा आएर रोकिएका छन् भने केही आउने क्रममा रहेका छन् । केही नयाँ सामान पनि आएकाले त्यसलाई कसरी भन्सारमा मूल्यांकन गर्ने भन्ने बारेमा उच्च सरकारी स्तरमा नै निर्णय गर्नुपर्ने देखिएको छ । दसैँँको विदासमेतको परवाह नगरी के नेपाली, के विदेशी सबैले उत्तिकै मेहनत गरेर काम गरिरहेकोमा आफूलाई असाध्यै खुसी लागेको मन्त्री भट्टराईको भनाइ छ ।
यस्तै मन्त्री भट्टराईले नवमीका दिन पनि काम भएकोमा खुसी व्यक्त गरे । उनले आजै लुम्बिनीमा निर्माणाधीन अन्तरराष्ट्रिय बुद्धिस्ट कन्फरेन्स तथा मेडिटेशन हलको पनि निरीक्षण गरे ।
मध्य दसैँँमा पनि १०० जनाभन्दा बढी श्रमिक काममा व्यस्त रहेको पाएपछि प्रसन्नता व्यक्त गर्दै मन्त्री भट्टराईले सबै क्षेत्रमा यसरी नै काम हुनसके देश बन्न धेरै समय नलाग्ने विश्वास व्यक्त गरे । एकै साथ ५ हजार मानिसले ध्यान गर्न मिल्ने भवनको आगामी बुद्ध जयन्तीमा सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।
प्रकाशित मिति: सोमबार, असोज २०, २०७६