काठमाडौं: करण केसीको उत्कृष्ट प्रदर्शनसँगै नेपालले नेदरल्याड्सविरुद्ध सनसनीपूर्ण जित हासिल गरेको छ । ओमानमा जारी पाँच देश सम्मिलित टि ट्वान्टी क्रिकेट सिरिजमा नेपालले सोमबार नेदरल्यान्ड्समाथि ४ विकेट जित निकालेको छ ।
टस जितेर नेदरल्याण्डसलाई ब्याटिङको निम्तो दिएको नेपालले १३४ रनको लक्ष्य पछ्याएको थियो । १ सय ३४ रनको लक्ष्य पछ्याउने क्रममा नेपाली ब्याट्सम्यान सुरुवातिमा राम्रो नगरे पनि विनोद भण्डारीले २६ रन हानेर नेपाललाई जिततर्फ अघि बढाए।
तुलनात्मक रुपमा राम्रो फर्ममा रहँदै २१ बलबाट २६ रन जोडेका विनोद भण्डारी १८औं ओभरको अन्तिम बलमा क्याच आउट हुन पुगे । अब नेपाललाई जितका लागि १२ बलमा २८ रन आवश्यक थियो । ६ विकेट गुमाइसकेको नेपाल पूरा दबावमा परेको थियो ।
करणसँग साझेदारी गर्न सोमपाल कामी आएका थिए । १९औं ओभरका तीन बल सकिदा नेपालले थप दुई रन मात्रै जोड्यो । अब जितका लागि ९ बलमा २६ रन आवश्यक थियो । चौथौं बलमा करणले छक्का प्रहार गरे । पाँचौं बलमा एक रन जोड्दै सोमपाललाई स्ट्राइक दिए । सोमपालले दुई रन जोडेपछि अन्तिम ओभरका लागि करण फेरि स्ट्राइकमा आए ।
जितका लागि अब ६ बलमा १७ रन आवश्यक थियो । करणले पहिलो बलमै छक्का प्रहार गरे । अब पाँच बलमा एघार रन ल्याउन थियो । तर, दोस्रो बल डट खेले । तेस्रो बलमा चौका र चौंथो बलमा फेरि करणले छक्का प्रहार गर्दै जित सुनिश्चित गरे । १४ बलमै ३१ जोडेका करणले अविजित रहँदै नेपाललाई एक बल बाँकी रहँदै चार विकेटले जित दिलाए ।
प्रकाशित मिति: सोमबार, असोज २०, २०७६