कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ जमुनाभाणीका बादी समुदाय दसैँ मनाउनका लागि कर्जा खोज्नमा जुटेका छन् । बादी समुदाय वर्षात्का बेला मजदुरी नपाउँदा बेखर्ची भएका छन् । महाकाली नदीले छाडेको बगरमा तीन दशकदेखि बस्दै आएका बादी समुदायले मजदुरी नगरे चुल्होमा आगो बल्दैन ।
महाकाली नदीको बगरमा बालुवा चाल्ने, गिट्टी सङ्कलन गर्ने र कृषि मजदुरका रूपमा कार्य गरी बादी समुदायले जीविका चलाउँदै आएका छन् । भारतीय सीमा सुरक्षा बलले नदीमा बालुवा, गिट्टी चालेर बेच्ने कार्य रोक्न थालेपछि जीविका चलाउँदै आएको स्रोतसमेत खोसिन थालेपछि बेखर्ची भएको राधिका रानाले बताइन् ।
जुन ठाउँमा जे मजदुरी पाउँछौँ । त्यसबाटै साँझ बिहानको खर्च मुस्किलले जुटेको छ उनले भनिन्, दसैँ आएको छ, मिठोमसिनो खाने, नयाँ लुगा किन्ने क्षमता नै छैन । बादी बस्तीका गज्जो राना दसैँका लागि धेरै ठाउँमा कर्जा खोज्न गए पनि नपाएको बताउँछन् । हिउँदमा मजदुरी गरेर कर्जा तिर्छु भनेर धेरै ठाउँमा पुगे, कतैबाट पनि कर्जा पाइएन उनले भने, तिर्ने आधार केहो भनेर सोध्छन् कसैले पनि कर्जा दिन मानेका छैनन् ।
मिठोमसिनो खाने, परिवारका लागि नयाँ लुगा किन्ने, वर्षमा एकपटक भए पनि मासु खाने इच्छा दसैँजस्तो चाडपर्वमा कसलाई हुँदैन । त्यो हाम्रो पनि थियो । इच्छामै सीमित भएको छ , उनले भने ।
वर्षमा एकपटक किनेको लुगासमेत फाट्न लागेको छ । नयाँ किन्न सक्दैनौँ केशव रानाले भने, टालटुल गरेर लगाउन विवश छौँ । बस्ती नजिकैका गाउँमा दसैँको रौनकताले छपक्कै ढाकेको भए पनि बादी बस्तीका बासिन्दा भने दसैँ के गरेर बनाउने भन्ने पीरलोमै बस्न बाध्य छन् । जनप्रतिनिधि आएपछि केही व्यवस्था हुन्छ कि भनेर आशामा बसेका बादी समुदायले बस्नका लागि गतिलो घरसमेत पाएका छैनन् । झोपडीमा त्रिपाल राखेर वर्षौदेखि बादी समुदाय त्यस ठाउँमा बस्दै आए पनि सुख दुःख सोध्ने कोही छैन ।
जनप्रतिनिधि बस्दै आएको ठाउँ भएकाले छाडन बारम्बार भन्दै आएपछि बादी समुदाय झनै चिन्तित भएको छ । बस्तीमा बस्दै आएको ३५ वर्ष बढी हुन थालेको छ जस्मा रानाले भने, सँगै बसेका अन्य समुदायका जग्गा दर्ता भई जग्गाधनी प्रमाण पुर्जा हात पारेका छन् । सोर्सफोर्सवालाहरूका लागि जे पनि हुन्छ यहाँ । हामीसँग केही छैन, केही भएको छैन ।
साँझ बिहानको छाक टार्न धौधौ पर्ने समुदायले वर्षौदेखि बस्दै आएको जग्गा छाड्न भने बेघर बनाउने षड्यन्त्र हुन थालेपछि यसका विरुद्ध सङ्घर्ष उत्रिने बेला आएको बादी समुदायका बासिन्दाले बताए । चाडपर्व पनि हुनेखानेका लागि रहेछ । समाजमा पछाडि पारिएको, आर्थिकरूपमा विपन्न, समाजको शोषणमा परेको समुदाय भए पनि अझै न्याय पाउन सकेका छैनौँ, पुन्टे रानाले भने ।
बस्तीका धेरै परिवारका व्यक्ति वर्षौदेखि बिरामी भएका छन् । आर्थिक अभावले उपचार नपाउँदा झोपडीमै बस्न बाध्य छन् । बालबालिकाको विद्यालयको खर्च जुटाउन नसक्दा अभिभावकहरूले बीचमै विद्यालय छुटाएर आफूसँगै मजदुरी गर्नका लागि लग्ने गरेका छन् ।
बस्दै आएको जग्गा नापजाँच गरी बस्नका लागि सुरक्षित आवासको व्यवस्था गरी दिन बादी समुदायले माग गरेका छन् । रोजगारीका अवसरहरूसमेत प्रदान गरी सहज जीवनयापन गर्ने वातावरण कायम गरिदिन सरकारसँग उहाँहरूको माग छ । बस्तीमा २५ परिवार बादी समुदायको बसोबास रहेको छ ।
प्रकाशित मिति: आइतबार, असोज १९, २०७६