काठमाडौं: यौन दुर्व्यवहार गरेको आरोप लागेपछि पदबाट राजीनामा दिएका सभामुख कृष्णबहादुर महराविरुद्ध जाहेरी परेको छ । जबरजस्ती करणीको प्रयास गरेको अभियोगमा पीडित महिलाले महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरमा जोहरी दिएकी हुन् ।
यसअघि १३ असोजमा ती महिलाले आफूमाथि हिंसा भएको दाबी गर्दै विभिन्न सञ्चारमाध्यममा बयान दिएकी थिइन् । आइतबार राति पानै ९ बजे सुविधानगरमा भएको भनिएको घटनापछि प्रहरी समेत उनको घरमा पुगेको थियो ।
महराको राजीनामा आएसँगै उनले बयान फेरेकी थिइन् । श्रीमान्सँग छलफलपछि मात्र के गर्ने निष्कर्षमा पुग्ने बताएकी उनले स्वास्थ्य परीक्षण गर्न पनि मानेकी थिइनन् ।
पछिल्लो समय ‘आफू डिप्रेसनको शिकार भएको र के बोलेँ थाहा नभएको’ भन्दै निवेदन समेत दिएकी थिइन् । यद्यपि, चर्को दबाबपछि प्रहरीले घटनास्थलबाट रक्सीका बोतल, फुटेका चस्मा लगायतका सामग्री बरामद गरेको थियो ।
जोहरी परेसँगै प्रहरीले अनुसन्धानमा पुनः तादरुकता देखाएको छ ।
प्रकाशित मिति: शनिबार, असोज १८, २०७६