काठमाडाैं । दसैँ मनाउन पछिल्लाे २ दिनमा ४ लाख ५० हजारभन्दा बढी मानिसले राजधानी छाडेका छन् ।
महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौँका अनुसार यही असोज १५ गते २ लाख १५ हजार र १६ गते २ लाख ४२ हजारले राजधानी छाडेका हुन् । महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक रविराज पौडेलले यही असोज ५ गतेदेखि आज बिहानसम्म १६ लाख ५६ हजारले राजधानी छाडेको जानकारी दिए ।
यो बीचमा झण्डै ७ लाख यात्रुु राजधानी भित्रिएका पौडेलले बताए । अहिले राजधानीमा भित्रिने क्रम भने न्यून भएको छ । उनका अनुसार पछिल्ला २ दिनमा १ लाख ४० हजारको हाराहारीमा यात्रु भित्रिएका छन् ।
समग्रमा आजसम्म राजधानीबाट बाहिरिएको खुद सङ्ख्या भने ९ लाख हाराहारीमा पुग्यो, अहिले उपत्यका, नागढुङ्गालगायत क्षेत्रमा सुरक्षा व्यवस्था राम्रो छ । केही व्यापारिक क्षेत्रमा मानवीय चाप बढी भएकाले क्यूमा गाडी गुडिरहेका छन् , उनले भने । उनले राजधानीमा १ हजारभन्दा बढी ट्राफिक प्रहरी खटाइएको र नागढुङ्गामा र्याकरसहित ट्राफिक प्रहरी तैनाथ रहेको जानकारी दिए ।
प्रकाशित मिति: शुक्रबार, असोज १७, २०७६