चितवान । भरतपुर महानगरपालिका–१० मा रहेको चितवन कालिका मन्दिरमा एउटा अनौठो दृश्य देख्न सकिन्छ । जहाँ अहिले दुर्गा पूजा भइरहेको छ । सोही मन्दिरको छेउको भजनकीर्तन गर्ने कोठामा एक महिला दुवै हातमा र छातीमा जमारा राखेर भुइँमा सुतिरहेकी छिन् ।
मन्दिरको छेउमा एउटा कुनामा रातो कपडाले बारिएको छ । सो कपडाले बारेको स्थानमा झुल लगाइएको छ । झूलभित्र वडा नम्बर ९ शरदपुरकी ४० वर्षीया विष्णु ढकाल दसैँको नवरात्रि सुरु भएदेखि नै यसरी बसिरहेकी छिन् । उनलाई कुर्न र रेखदेख गर्नका लागि श्रीमान् कृष्ण ढकाल बसिरहेका छन् ।
यही असोज १२ गते घटस्थापनाका दिनदेखि उनी सो मन्दिरमा आएर निराहार देवीको व्रत बसेकी हुन् । श्रीमान् कृष्णका अनुसार हिन्दू धर्मको रक्षा र राष्ट्र शान्तिका लागि उनी यसरी निराहार व्रत बसिरहेकी छिन् । यसबाट दैवी शक्ति प्राप्त हुने उनको विश्वास छ । पहिलादेखि नै धर्ममा विश्वास गर्ने विष्णुले विगत केही वर्षयता हस्तरेखाबाट भविष्य बताउँदै आएकाे उनका श्रीमान् कृष्णले जानकारी दिए ।
सोही कार्यका सिलसिलामा विगत पाँच वर्षदेखि उनमा निराहार व्रत बसेर आफ्नो हात र छातीमा उमारेका जमरा नवमीका दिन देवी मन्दिरमा चढाउने इच्छा थियो । सोही इच्छाअनुसार यस वर्ष उनले निराहार व्रत बसेको कृष्णले जानकारी दिए । यसरी उमारिएको जमरालाई नवमीका दिनमा दुर्गा मन्दिरमा चढाउने, दशमीका दिनमा लाख बत्ती बालेर व्रत तोड्ने कार्यक्रम छ ।
आफ्नो घर चलाउनका लागि सामान्य माछापालन गर्ने उक्त परिवारले धर्मप्रति निकै आस्था राख्दै आएको छ । सो व्रत बस्नुभन्दा दुई दिन अघिदेखि विष्णुले केही नखाई बसेकाे श्रीमान् कृष्णले बताए । लामो समयसम्म निराहार व्रत बस्दा पनि विष्णुको शरीरमा खासै समस्या नदेखिएको उनले बताए ।
घटस्थापनाका दिन उनको हात र छातीमा जौ र मकैको जमरा राखिएको हो ।
प्रकाशित मिति: शुक्रबार, असोज १७, २०७६