काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालासहित ३ जनाको नाम सिफारिस गरिएको छ ।
शिक्षामन्त्री गिरीराजमणि पोखरेलको अध्यक्षतामा बसेको सर्च कमिटीको बैठकले कोइरालाको नाम पहिलो नम्बरमा र दोस्रो मा डा. धर्मकान्त बाँस्कोटा र तेस्रोमा प्राध्यापक डा. चन्द्रमणि पौडेलको नाम सिफारिस गरेको हाे ।
यसअघिका उपकुलपति तीर्थ खनियाँको पद सकिएपछि शिक्षाध्यक्ष सुधा त्रिपाठीलाई ३ महिनाका लागि उपकुलपतिको जिम्मेवारी दिइएको थियो ।
सिफारिस भएका ३ मध्ये १ जनालाई सरकारले त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्त गर्ने छ । त्रिवि उपकुलपति हुन एक दर्जनभन्दा बढीले आकांक्षा देखाएका थिए ।
डा. कोइराला वरिष्ठ मुटुरोग विशेषज्ञ हुन भने डा. बास्कोटा तत्कालीन नेपाल मेडिकल काउन्सिलका अध्यक्ष हुन् । उनले हालैमात्र अवकाश पाएका थिए ।
डा. पौडेल त्रिविकै पूर्वरजिस्ट्रार हुन् । उनलाई सरकारले २०७४ सालमा राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा समेत नियुक्त गरेको थियो ।
प्रकाशित मिति: शुक्रबार, असोज १७, २०७६