प्रधानमन्त्री केपी ओलीले छिमेकी चीनसँगको सम्बन्ध थप उचाइमा पुग्ने बताएका छन्। चिनियाँ राष्ट्रपति सी चिनफिङको छिट्टै हुन लागेको भ्रमणले दुई देशको मित्रता सुदृढ हुने बताएका हुन्।
‘हामी कोहीसँग झुक्दैनौं, कतै ढल्कँदैनौं,’ प्रधानमन्त्री ओलीले बिहीबार सरकारी सञ्चारमाध्यमका प्रतिनिधिसँग भने, ‘नेपाललाई भूपरिवेष्टितबाट भूजडित, जलजडित, हवाईजडित र सञ्चारजडित बनाउन लागेका छौं।’ प्रधानमन्त्री ओलीले छिमेक सम्बन्ध सुमधुर, सुढृढ, विश्वसनीय र उचाइमा पुगेको दाबी गरेका छन्।
राष्ट्रपति सी आगामी २५ गते नेपाल आउने भनिए पनि कार्यतालिका बाहिर ल्याइएको छैन। भ्रमणको तयारी भने तीव्र रूपमा भइरहेको छ। सडक मर्मतदेखि सुरक्षा समन्वयसम्मको तयारी भएका छन्। दुईपक्षीय वार्तामा नेपालले राख्ने प्रस्तावबारे पनि छलफल जारी छ।आजको अन्नपूर्ण पोष्टमा समाचार छ ।
प्रकाशित मिति: शुक्रबार, असोज १७, २०७६