दशौँ लिगलिगे दौड प्रतियोगिता ‘२०७६’ को उपाधि जित्दै पर्वतका अनिष थापामगरले श्रीपेच पहिरिनुभएको छ । गोरखाको पालुङटारमा आज भएको प्रतियोगितामा निर्धारित १३.८ किलोमिटर दूरी ५७ मिनेट ५५ सेकेण्डमा पूरा गर्दै थापामगरले चौथो पटक सो उपाधि जित्न सफल भएका हुन् । भारतीय सेनामा कार्यरत थापामगर उपाधि जितेसँगै एक दिनका लागि लिगलिगे राजासमेत घोषित भएका हुन् ।
प्रथम थापामगरलाई एक वर्षका लागि पालुङटार नगरपालिकाको सद्भाव दूत घोषणा गरिएको पालुङटार नगरपालिकाका प्रमुख दीपकबाबु कँडेलले जानकारी दिए ।
प्रतियोगितामा दोस्रो हुनुभएका नेपाली सेनाका खगेन्द्रबहादुरले निर्धारित दूरी एक घण्टा एक मिनेट आठ सेकेण्डमा पूरा गरे । लमजुङका नेपाली सेनाका राम्जी बस्नेतले निर्धारित दूरी एक घण्टा एक मिनेट २४ सेकेण्डमा पूरा गर्दै तेस्रो भए। चौथो भएका गोरखा हर्मीका सन्दीप ढकालले निर्धारित दूरी एक घण्टा दुई मिनेट ३४ सेकेण्डमा पूरा गरे ।
गोरखा र लमजुङको सिमानामा पर्ने मस्र्याङ्दी नदीको दोभानमा रहेको चेपेघाटबाट शुरु भएको दौड प्रतियोगिता ढिकीडाँडा, ठाँटीपोखरी, पानी ट्याङ्की, छापथोक, बडडाँडा, बोहोरागाउँ, सभा चौतारो, मैबल, दर्बेपानी, बिजुलीडाँडा, खोली चौतारोदेखि लिगलिगकोट गढीसम्म पुगेर टुङ्गिएको थियो । प्रथम थापामगरलाई नगद ६० हजार १०० सहित श्रीपेच पगरी, ट्रफी र मेडल प्रदान गरिएको आयोजक लिगलिगकोट विकास अभियानका अध्यक्ष पूर्ण रानाले जानकारी दिए ।
नेपाल एकीकरण अघिका बाइसे चौबीसे राज्यमध्ये लिगलिग कोटमा दौडेर प्रथम हुने व्यक्ति राजा हुने परम्परा रहेको थियो । पहिले राजा हुने परम्पराबाट दौड प्रतियोगिता शुरु भएको भए पनि अहिले लिगलिगको आन्तरिक तथा बाह्य पर्यटकलाई लिगलिगकोट भित्र्याउन प्रतियोगिताको आयोजना गरिँदै आएको बताए ।
विसं १६०४ मा शुरु भएको मानिएको दौड प्रतियोगितालाई पुनः २०६७ बाट निरन्तरता दिन थालिएको अध्यक्ष रानाले जानकारी दिए ।
प्रकाशित मिति: बिहीबार, असोज १६, २०७६