चिनियाँ राष्ट्रपति सी चिनफिङ यही असोज २५ गते अर्थात् अक्टोबर १२ तारिखमा नेपाल आउने भएका छन्। चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण दुई साताअघि नै तय भए पनि सरकारले गोप्य राखेको छ।
सरकारी उच्च स्रोतका अनुसार सी २५ गते नेपाल आई २६ गते फर्कने छन्। ‘अहिलेसम्म सी नेपाल आउने अक्टोबर १२ तारिखकै कुरा छ तर भारत भ्रमणको मिति तलमाथि भएमात्रै मिति फरक पर्नसक्छ। हामी अहिलेसम्म २५ गतेकै तयारीमा छौ’, स्रोतले भन्यो। दसैंलगत्तै चिनियाँ राष्ट्रपतिलाई स्वागत गर्नुपर्ने भन्दै परराष्ट्र र गृह मन्त्रालयका जिम्मेवार कर्मचारीलाई काठमाडाैं बाहिर नजान भनिएको छ।
सुरक्षा निकायका प्रमुखहरुसमेत सुरक्षा तयारीमा जुटेका छन्। परराष्ट्र मन्त्रालय र गृह मन्त्रालयमा दिनहु बैठक बस्न थालेको छ। परराष्ट्र र गृहका अधिकारीहरुबीच बुधबार दिनभर नै यो विषयमा गृहमा छलफल भयो। मिति तय भइसकेपछि परराष्ट्र र गृहबीच समन्वय गर्नुपर्ने भएकाले दिनहुँ छलफल हुन थालेको हो। होटल बुक गरिएको छ। तर सी कुन होटलमा बस्ने भन्नेबारे सरकारले खुलाएको छैन।
अतिविशिष्ट पाहुना आउँदा जुनसुकै होटलमा बस्न सक्ने भएकाले सबै पाँचतारे होटललाई तयारी अवस्थामा रहन भनिएको छ। सुरक्षा निकायका प्रमुखबाहेक अन्य कसैलाई पनि भ्रमण मितिबारे जानकारी दिइएको छैन। आजको नागरिक दैनिकमा समाचार छ ।
प्रकाशित मिति: बिहीबार, असोज १६, २०७६