अष्ट्रेलियाविरुद्ध टोलीमा दुई परिवर्तन
विश्वकप फुटबल छनोटको दोस्रो चरणमा अष्ट्रेलियाविरुद्ध खेल्ने नेपाली टिमको घोषणा भएको छ । प्रशिक्षक योहान कालिनले अष्ट्रेलियाविरुद्ध उसैको भूमिमा खेल्ने २३ सदस्यीय नेपाली टिमको घोषणा गरेका हुन् । नेपालले यही सोज २३ गते हुने खेलका लागि प्रशिक्षक योहान कालिनले पछिल्लो खेलबाट २ खेलाडी परिवर्तन गरेका छन् ।
चोटका कारण चाइनिज ताइपेइविरुद्ध खेल गुमाएका अजित भण्डारी र फरवार्ड नवयुग श्रेष्ठ टोलीमा फर्किएका छन् । यसअघि पहिलो खेलमा कुवेतविरुद्धको २३ खेलाडी नै अष्ट्रेलिया प्रस्थान गर्नेछन् । ताइपेइविरुद्ध विमल राना र रवी सिलवाल प्रस्थान गर्ने भनेपनि रवी भिसा नआएका कारण नेपालमा नै रहेका थिए । यसपटक प्रशिक्षक कालिनले कप्तान विराज महर्जन, भरत खवास लगायत खेलाडीलाई प्रशिक्षणमा नै समावेश गरेका थिएनन् ।
नेपालले असोज २३ मा अष्ट्रेलियासँग खेलेपछि चौथो तथा अन्तिम अवे खेलमा असोज २८ गते जोर्डनको सामना गर्नेछ । जोर्डनविरुद्ध खेलका लागि पनि सम्भवत यहि नै अन्तिम टोली हुनेछ । टोली अष्ट्रेलियाबाट नै जोर्डन प्रस्थान गर्ने कार्यक्रम रहेको छ । नेपाली टोली बुधबार अष्ट्रेलिया प्रस्थान गर्ने कार्यक्रम छ । टोलीले एक साता सिड्नीमा रहेर प्रशिक्षण गर्नेछ । खेलको दुई दिनअघि मात्र टोली खेलस्थल क्यानबेरा प्रस्थान गर्नेछ । सिड्नीमा नेपाली टोलीको व्यवस्थापन अष्ट्रेलिया नेपाल फुटबल संघले गरेको छ ।
नेपालले छनोटको पहिलो खेलमा कुवेतसँग ७-० को लज्जास्पद हार बेहोरेपछि दोस्रो खेलमा ताइपेइलाई उसकै मैदानमा २-० ले पराजित गरेको थियो ।
प्रकाशित मिति: मंगलबार, असोज १४, २०७६