युवा ब्याट्सम्यान बाबर आजमको शतक र उस्मान शिनवारीको पाँच विकेटमा श्रीलंकासँगको दोस्रो वान डे खेलमा घरेलु टोली पाकिस्तान विजयी भएको छ ।
सोमबार राती सम्पन्न खेलमा पाकिस्तानले श्रीलंकालाई ६७ रनले पराजित गरेको हो । ३ सय ६ रनको लक्ष्य पछ्याएको श्रीलंका ४६.५ ओभरमा अल आउट हुँदै २ सय ३८ रनमा समेटियो ।
श्रीलंकाका लागि शेहान जयसूर्याले १ सय ९ बलमा ७ चौका र १ छक्का सहित ९६ रनको योगदान दिएपनि टोलीको हार टार्न सकेनन् । एक समय १०.१ ओभरमा २८-५ को कमजोर अवस्थामा पुगेको श्रीलंकालाई जयसूर्या र शनाकाले ४०.५ ओभरसम्म १ सय ७७ रनको उत्कृष्ट शतकीय साझेदारी गर्दै लज्जास्पद फराकिलो हारबाट बचाएका थिए ।
पाकिस्तानका लागि उस्मान शिनवारीले १० ओभरमा १ मेडन सहित ५१ रन खर्चेर ५ विकेट लिदै म्यान अफ द म्याच चुनिए । सादब खान २,इमाद वासिम,वहाब रियाज र मोहम्मद आमिरको नाममा समान १ विकेट रह्यो ।
त्यस अघि नेशनल स्टेडियम कराँचीमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको पाकिस्तानले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा ३ सय ५ रन बनाएको थियो । पाकिस्तानका युवा ब्याट्सम्यान बाबर आजमले १ सय १५ रनको शतकीय योगदान दिए ।
श्रीलंकाका वानिन्दु हसरंगाले २ विकेट लिदा लाहिरु कुमारा र इसुरु उडनाको नाममा १-१ विकेट रह्यो । योसँगै तीन ओडीआई सिरिजमा पाकिस्तानले १-० को अग्रता लिएको छ । पहिलो खेल भारी वर्षाको कारण रद्ध भएको थियो । तेस्रो तथा अन्तिम खेल बुधबार हुुने छ ।
प्रकाशित मिति: मंगलबार, असोज १४, २०७६