दसैंको मुखमा यातायात व्यवसायीले सर्वसाधारणमाथि खुलमखुला ठगी गरिरहेका छन् । व्यवसायीले यातायात सेवालाई कमाउ धन्दाका रूपमा प्रयोग गरिरहेका छन् ।
दसैंमा उपत्यकाबाट २५ लाखको संख्यामा सर्वसाधारण बाहिरिने मौका छोपी व्यवसायीले विभिन्न बहानामा बढी भाडासमेत लिएको पाइएको छ ।
बसको टिकटमा तोकिएभन्दा बढी भाडा लिएर काउन्टरबाटै टिकट बिक्री भइरहे पनि सरकार भने मूकदर्शक बनेको छ ।
चावहिलस्थित सुपर खोटाङ भोजपुर यातायात प्रालि, मध्यमोलुङ यातायात प्रालिलगायतले तोकिएको भाडादरभन्दा बढी दरमा टिकट बेचिरहेका छन् ।
टिकट काउन्टरवालाले बस रिजर्भमा लिएकाले महँगो पर्न गएको बताउँदै २ सयदेखि ५ सय बढीसम्म लिने गरेको पाइएको छ ।
काठमाडौंदेखि दिक्तेलसम्मको भाडा अन्य काउन्टरमा १२ सय लिने गरेमा ती काउन्टरवालाले १५ सय लिने गरेका छन् ।
दिक्तेलसम्म सुमोले १८ सयसम्म लिने गरेकोमा उनीहरूले अहिले २५ सयसम्म लिने गरेको पाइएको छ । खोटाङ, भोजपुरलगायतका जिल्लामा १५ देखि १९ गतेसम्मका सबै टिकट सकिएको काउन्टरवालाले बताएका छन् । आजको राजधानी दैनिकमा समाचार छ ।
प्रकाशित मिति: मंगलबार, असोज १४, २०७६