शनिबार राति कोसीटप्पुवन्यजन्तुआरक्षबाट एउटा मत्ता बाहिर निस्कियो। थाहा पाएपछि आरक्ष प्रशासन ट्र्याक्टर लिएर हात्तीलाई फर्काउन गयो।
सामान्यतया ट्र्याक्टरको आवाज सुनेर, आकार र लाइट देखेर हात्ती डराउँछ र भाग्छ। तर शनिबार निस्किएको हात्ती सजिलै भाग्नेवाला थिएन। किनकी उसमा सहवासको उन्माद तीव्र थियो।
‘रोक्न खोज्दाखोज्दै पनि मद्ले चूर भएर तारबार नाघेर धानबालीमा पस्यो,’ आरक्षका वार्डेन रामदेव चौधरीले भने, ‘ट्र्याक्टरलाईसमेत नटेरी उफ्रियो।’
धेरैबेर लगाएर जसोतसो नियन्त्रणमा लिएर आरक्षको हात्तीसारमा लगेर बाँधियो। अनि त्यहाँ रहेको ढोईसँग समागम गर्न दिइयो। ‘त्यसपछि मात्र बल्ल मत्ता शान्त भयो,’ उनले बताए।
गाउँ पसेका हात्ती खेद्न आजकल ट्र्याक्टर प्रयोग गरिन्छ। पहिले नाङ्लो ठटाउँदा हात्ती भाग्थ्यो। ‘तर आजकल ट्र्याक्टरलाई पनि टेर्दैन, डोजर नै देखाउनुपर्छ,’ आरक्ष नजिकैको कोसी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारी भन्छन्, ‘हात्ती अटेरी बन्दै गएका छन्।’
कोसीटप्पुचरा र अर्नाका लागि नेपालमै विशेष आरक्ष मानिन्छ। तर हात्तीले बस्तीमा पसेर मानिस मार्ने क्रम बढेको छ। अन्सारीका अनुसार पछिल्लो दुई वर्षमा कोसी गाउँपालिकाका १३ जनालाई आरक्षबाट निस्किएका जंगली जनावरले मारेका छन्। आजको अन्नपूर्ण पोष्टमा समाचार छ ।
प्रकाशित मिति: मंगलबार, असोज १४, २०७६