प्रदेश ३ सरकारको प्रत्यक्ष सहयोगमा नारायणी नदीमा क्रुज (पानीजहाज) सञ्चालन गर्ने तयारी भइरहेका बेला निजी क्षेत्रले नारायणी नदीमै छुट्टै मिनी क्रुज (सानो पानीजहाज) सञ्चालन गरेको छ ।
रङ्गमहल रिभर ल्यान्ड प्रालिले मिनी क्रुज सञ्चालनमा ल्याएको हो । यसको औपचारिक सुरुआत भने दशैंको फूलपातीबाट गरिने प्रालिका अध्यक्ष रमन भट्टराईले जानकारी दिए ।
“हामीले अहिले टेस्ट ड्राइभ सुरु गरेका हौँ । यसलाई औपचारिक रूपमा फूलपातीबाट सुरु गर्नेछौँ,” भट्टराईले भने । मिनी क्रुज झट्ट हेर्दा सानो पानीजहाजकै स्वरूपमा छ । यसलाई स्थानीय पानीजहाजकै नामले चिन्दछन् । मिनी क्रुज पहिलोपटक आइतबार मात्रै नारायणी नदीमा टेस्ट ड्राइभ गरिएको हो । यसको सोमबार पनि टेस्ट ड्राइभ जारी थियो । “अहिले हामी २० जना यात्रु राखेर यसलाई चलाउन सक्नेछौँ,” अध्यक्ष भट्टराईले भने ।
मिनी क्रुजसँगै प्रालिले दुईवटा जेट स्किम, दुईवटा रिभरबोट र एउटा बनानाबोट पनि सञ्चालनमा ल्याएको छ । यसका लागि प्रालिले करिब साढे तीन करोड रुपियाँ लगानी गरेको जनाएको छ ।
रङ्गमहल रिभर ल्यान्ड प्रालि कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएको संस्था हो भने यसले नारायणी नदीमा मिनी क्रुज चलाउन वातवरण मन्त्रालयबाट ईआईए पास गराएको छ भने पर्यटन मन्त्रालय र भरतपुर महानगरपालिकाबाट सञ्चालनको अनुमति लिएको छ ।
नारायणगढको नारायणी किनारस्थित बुद्धपार्कलाई आफ्नो केन्द्र बनाएको प्रालिले मिनी क्रुज देवघाटदेखि गोलाघाटसम्म सञ्चालन गर्ने भएको छ । आजकाे गोरखापत्रमा समाचार छ ।
प्रकाशित मिति: मंगलबार, असोज १४, २०७६