रोल्पा । रोल्पाको लुंग्री खोलामा बस खस्दा चालकसहित २ जनाको मृत्यु भएको छ। आशीर्वाद यातायातको ग १ ख ५५७३ नम्बरको बस सोमबार दिउँसो खोलामा खस्दा चालकसहित अन्य एक यात्रुको मृत्यु भएको हो।
मृत्यु हुनेमा लुंग्री गाउँपालिका–३ जुतुङखोलाका २२ वर्षे चालक यामबहादुर घर्ती र लुंग्री गाउँपालिका–२ सिर्पका १९ वर्षे सूर्यलाल जीएम छन् । सुनिलस्मृति गाउँपालिका–३ रुइनीबाङ जिपपार्कदेखि उत्तर तर्फबाट बस खोलामा खसेको प्रहरीले जनाएको छ। गाडी फर्काउने क्रममा बस सिधै खोलामा खसेको हो ।
जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक चित्रबहादुर गुरुङका अनुसार बस २ सय मिटर तल खोलाको बीचमा खसेको छ। घटना लगत्तै सुलिचौर इलाका प्रहरी कार्यालयबाट प्रहरी र स्थानीय खोलामा पुगेर उद्दारमा खटिएका छन् । २ जनाको शव निकालिएकाे छ भने बसभित्र अन्य यात्रु रहेको वा नरहेको खुल्न सकेको छैन।
खोलको खोँचमा बस दुर्घटनाग्रस्त अवस्थामा छ। पानीको बहाव धेरै भएकाले उद्दारमा कठिनाइ भइरहेको प्रहरीले जनाएकाे छ। सिर्पतर्फ यात्रु लिएर जानका लागि जिपपार्क नजिकै गाडी फर्काउन गएका बेला दुर्घटना भएको बताइएको छ।
प्रकाशित मिति: सोमबार, असोज १३, २०७६