काठमाडाैं । सरकारी स्वामित्वको नेपाल टेलिकमले देशभरका ५० सहरी क्षेत्रमा चौथो पुस्ताको फोरजी सेवा सञ्चालनमा ल्याउने भएको छ । सो सेवा आउँदो बुधबार सुरु हुने छ ।
निजी दूरसञ्चार सेवा प्रदायक एनसेलले देशका अधिकांश स्थानमा फोरजी सेवा पुर्याएको दाबी गरिरहँदा सरकारी स्वामित्वको टेलिकमले लामो प्रयासपछि सेवा विस्तार गर्न लागेको हो ।
कम्पनीले काठमाडौँमा कार्यक्रमको आयोजना गरी फोरजी सेवा विस्तार भएको घोषणा गर्ने र उक्त कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने जनाइएको छ । टेलिकमले यसअघि २०७३ पुस १७ गतेदेखि काठमाडौँ र पोखरामा फोर जी सेवा पुर्याएको थियो । टेलिकमले बढी व्यावसायिक र व्यापारिक कारोबार हुने तथा बढी जनघनत्व भएका स्थान चयन गरेर सेवा विस्तार गर्न लागेको हो ।
टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यका अनुसार हालसम्मको तयारी अनुसार ५० सहरी तथा नगर क्षेत्रमा चौथो पुस्ताको फोरजी सेवा उपलब्ध गराउने तयारी अनुसार काम भइरहेको छ । त्यसका लागि करिब १ सय १० भन्दा बढी स्थानमा बिटिएस टावर जडान गरिसकेको छ । बुधबारसम्म त्यस्ता टावरको संख्या १ सय ५० सम्म पुग्ने छ । हरेक दिन एक दर्जन टावरको संख्या थपिएको र द्रुतगतिमा काम भइरहेकाले तोकिए भन्दा बढी स्थानमा सेवा पुर्याउने योजनामा आफूहरु रहेको प्रवक्ता वैद्यको भनाइ छ ।
उनका अनुसार चन्द्रगढी, बिर्तामोड, दमक, विराटनगर, इनरुवा, धरान, धनकुटामा फोर जी सेवा सञ्चालनमा आउने छ । यस्तै जनकपुर, जलेश्वर, मलंगवा, जलेश्वर, बारा, पर्सा, सिमरा, कलैया, गौरमा चौथो पुस्ताको फोरजी सेवा सुरु हुने छ ।
यस्तै धादिङ, काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, विदुर, मन्थली, भिमेश्वर, सिन्धुलीमाडी, पर्वत, कुश्मा, बाग्लुङ, चितवन, सौराहा, तौलिहवा, बुटवल, देवदहमा त्यस्तो सेवा विस्तार हुने छ । तुल्सीपुर, घोराही, बाँकेको नेपालगन्ज, कोहलपुर भीमदत्तनगर, झलारी, पिपलाडी, चौमला र अत्तरियामा सेवा सञ्चालनमा आउने छ । कर्णाली प्रदेशको सुर्खेतमा सोही दिनदेखि उक्त सेवा सञ्चालनमा ल्याउने तयारी गरिएको टेलिकमका सहायक प्रवक्ता कृष्ण भण्डारीले जानकारी दिए ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले तोकिएको समयमा नै टेलिकमको फोरजी सेवा विस्तार गर्न दिएको निर्देशन अनुसार नै काम सुरु भएको ८ महिना पुग्दा नपुग्दै मुलुकका ५० बढी स्थानमा एकै पटक उक्त सेवा पुग्न लागेको हो ।
फोरजी एलटीई सेवा आगामी माघसम्म देशभर विस्तार गर्ने लक्ष्य राखिएको छ । गत माघमा सम्झौता भए बमोजिम नै एक वर्षभित्र देशभर नै उक्त सेवा पुर्याउने लक्ष्यसाथ युद्धस्तरका काम भइरहेको टेलिकमले जनाएको छ । उक्त सेवा विस्तारका लागि टेलिकमले रु १८ अर्ब खर्च गरेको छ । मन्त्री बाँस्कोटाले डिजिटल नेपालको अवधारणालाई सरकारले अगाडि बढाएको सन्दर्भमा फोरजी सेवा एउटा महत्वपूर्ण साधन भएको बताउँदै आएका छन् ।
सूचना तथा प्रविधिको क्षेत्रमा प्रभावकारी काम गर्ने लक्ष्यका साथ गत माघमा फोरजी सेवाका लागि आवश्यक पर्ने ‘कोर नेटवर्क’ र ‘रेडियो एक्सेस नेटवर्क’ जडानका लागि चिनियाँ कम्पनी जेडटीई कर्पाेरेसन र हङकङको सीसीएसआई कम्पनीसँग सम्झौता गरेको थियो । सम्झौता अनुसार तोकिएको अवधि पूरा हुन चार महिना बाँकी रहेको भएपनि निर्धारित समयमै काम सकिने देखिएको छ ।
नेपालमा हरेक काम तोकिएको समयमा पूरा नहुने र अनेकन बाहना बनाएर पन्छने प्रवृत्तिबाट आहात भएको देशले फोरजी सेवा भने तोकिएको समयमा नै पाउने भएका छन् । उक्त सेवा विस्तारका लागि साँझ बिहान नभनी दैनिक १८ घण्टा बढी काम भइरहेको छ । परिचालन तथा आवश्यक समन्वयका लागि टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले नेतृत्व लिइरहेका छन् ।
कुन स्थानको काम के भयो, प्रगति के छ भन्ने देखि समस्या समाधानका लागि प्रबन्ध निर्देशक स्वयम् नै लागेपछि अन्य कर्मचारीलाई दबाव परेको छ । दैनिक नै नयाँ नयाँ प्रगतिका विवरण टेलिकममा प्राप्त भइरहेका छन् । प्रतिस्पर्धाको युगमा निजी सेवा प्रदायकले करीब करीब देशभर सेवा पुर्याइरहेको अवस्थामा सरकारी स्वामित्वको कम्पनीपछि परेको त होइन भन्ने आम नागरिकको गुनासोलाई सम्बोधन हुने गरी काम भइरहेको टेलिकमले जनाएको छ ।
टेलिकमले फोरजीका लागि आवश्यक पर्ने ‘कोर नेटवर्क’ काठमाडौं र बुटवलमा राखेको छ । टावरको फाउन्डेसन, विद्युत् जडान, घरवालासँगको सम्झौता, जग्गा भाडाको सबै काम सम्पन्न गरिसकेको छ । देशभर सेवा विस्तार गरेर थप ६५ लाख ग्राहक थप्ने योजनासाथ काम भइरहेको टेलिकमको दावी छ । गत असार मसान्तको विवरण अनुसार हाल टेलिकमको ग्राहक २ करोड २६ लाख ९६ हजार छन् । त्यसमा मोबाइल फोन प्रयोग गर्नेको संख्या मात्रै २ करोडको हाराहारीमा रहेको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । टेलिकमले गत शुक्रबार मात्रै फोरजी विस्तार गर्ने स्थानको आवश्यक परीक्षण गरेको थियो ।
केही दिनपहिले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल टेलिकमको फोरजी सेवा विस्तार युद्धस्तरमा भइरहेको र तोकिएको समयमा पूरा हुने विश्वास व्यक्त गरेका थिए । उनले टेलिकमको फोरजी सेवा विस्तार र सञ्चालनको अन्तिम तयारी भइरहेको र त्यसका लागि आवश्यक सबै संयन्त्र परिचालन गरिएको बताएका थिए ।
यस्तै टेलिकमले दसैँको अवसरमा आइतबार घटस्थापनादेखि नै फोरजी र अन्य सेवामा विशेष छुट दिएको छ । टेलिकमको फोरजी सिम परिवर्तन गर्दा कुनै शुल्क नलाग्ने जनाएको छ । कम्पनीका अनुसार पहिलो पटक फोरजी नेटवर्कमा दर्ता हुने ग्राहकले दुई दिनको समयसहितको दुई सय एमबी डाटा बोनस पाउने व्यवस्था गरेको छ । दोस्रो र तेस्रो पुस्ताका सिम चलाइरहेका ग्राहकले सामान्य रुमपा नै आफ्नो सिमलाई फोर जी बनाउन सक्ने जनाएको छ ।
प्रकाशित मिति: सोमबार, असोज १३, २०७६