विराटनगर । विराटनगर महानगरपालिकाले नगर क्षेत्रमा सरकारी स्तरकाे आधुनिक पशु बधशाला निर्माण गर्न लागेकाे छ ।
निजी स्तरमा सञ्चालित पशु बधशालाबाट उपभोक्ताले अस्वस्थकर मासु खान बाध्य भइरेहेकाे अवस्थामा नगरबासीको आवश्यकतामा बधशाला निर्माण गर्न लागिएको नगरपालिकाले जनाएकाे छ ।
विराटनगर महानगरपालिका–८ स्थित १ बिघा ८ कट्ठा जग्गामा २०६६ सालमा बधशाला निर्माण सुरु भए पनि पूरा हुन सकेको छैन ।
बधशाला निर्माण गर्न २१ करोड रुपैयाँ लाग्ने र यसका लागि डिपिआर तयार भइसकेकाले २ वर्षभित्रमा व्यवस्थित बधशाला निर्माण हुने महानगरपालिकाकाे लक्ष्य छ । बधशाला निर्माण गर्न प्रदेश सरकारको पाँच करोड र विराटनगर महानगरपालिकाको पाँच करोड गरी १० करोड रुपैयाँबाट काम थालिने र पछि स्रोत जुटाउँदै जाने महानगरपालिकाको योजना छ ।
नेपालमै नमुना बधशाला निर्माण गर्न हेफर इन्टरनेसनल नेपालले प्राविधिक सहयोग एवं सहजीकरण गरिरहेको संस्थाका कार्यक्रम निर्देशक तीर्थराज रेग्मीले जानकारी दिए । बधशाला निर्माण गर्न बोलपत्र आह्वानका लागि महानगरपालिका प्रशासन महाशाखाका प्रमुख अर्जुन थपलियाको संयोजकत्वमा सात सदस्यीय समिति गठन भएको छ ।
विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले वर्तमान परिस्थितिलाई सहज बनाउन र विराटनगरमा कुनै पनि बधशाला नभएको कारण उपभोक्ताको स्वास्थ्यमा पर्ने असरलाई निर्मूल पार्न व्यवस्थित बधशाला निर्माण गर्न लागेको बताए ।
उनले एउटा सुन्दर सहर निर्माण गर्ने क्रममा पशु बधशालाको निकै आवश्यकता महसुस गरेको भन्दै दुई वर्षभित्रमा निर्माण सम्पन्न हुने दाबी गरे ।
प्रकाशित मिति: सोमबार, असोज १३, २०७६