काठमाडाैं । नेपालमा मनसुन प्रवेश गर्ने औसत मिति जुन १० मानिन्छ भने सामान्यतया सेप्टेम्बर २३ सम्म मनसुन कायम रहन्छ । मनसुनको अहिलेको सक्रियता हेर्दा अझै १० दिन मनसुन कायम रहने संकेत देखिएको छ । यो वर्ष नेपालमा मनसुन १० दिन ढिला अर्थात् जुन २० मा प्रवेश गरेको थियो ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालबाट मनसुन यो दिनबाट बाहिरिन्छ भनेर किटानी गर्न नसकिए पनि अहिले नै बाहिरिने संकेत भने देखिँदैन । मनसुन अन्त्य हुनाका लागि मनसुनको न्यून चापीय रेखा बिस्तारै हट्दै जानुपर्छ र दक्षिण पूर्वी हावाको सट्टा पश्चिमी हावा बहन सुरु हुनुपर्छ ।
अहिले पनि मनसुन सक्रिय रही सामान्य वर्षा भइरहेकाले मनसुन अझै हप्ता/१० दिनसम्म कायम रहने सङ्केत देखिएको महाशाखाका वरिष्ठ मौसमविद् शान्ति कँडेल बताउँछिन् । उनी भन्छिन्, मनसुन सधैँ एकै समय सकिन्छ भन्ने हँुदैन मनसुन औसतमा सेप्टेम्बर २३ मा बाहिरिनुपर्ने हो । कहिले त्योभन्दा अगाडि र पछाडि हुन्छ । पछिल्लो केही वर्षको तथ्यांक हेर्दा नेपालमा सेम्टेम्बरमा मनसुन नसकिएर अक्टोबरसम्म पुग्ने गरेको छ । यस वर्ष पनि सेप्टेम्बरमा नसकिएर अक्टोबरसम्म पुग्ने संकेत देखिन्छ ।
विगत १८ वर्ष अवधिको मौसमी तथ्यांक हेर्दा नेपालमा पाँच वर्ष मात्र जुन १० अघि मनसुन प्रवेश गरेको छ भने अरू वर्ष ढिला नै प्रवेश भएको छ । मनसुन कायम रहने मिति पनि पछाडि धकेलिँदै गएको छ । मौसमविद्हरुले यसलाई पनि जलवायु परिवर्तनको असर हो भनेका छन् ।
मनसुन प्रवेश गर्ने र कायम रहने मितिमा आएको परिवर्तनले खासगरी कृषिमा असर पारेको छ भने मानिसको जीवनशैलीलाई पनि प्रभावित तुल्याएको छ । वरिष्ठ मौसमविद् कँडेल भने यसमा जलवायु परिवर्तनको प्रभावबारे निर्क्याेल गर्न वैज्ञानिक अध्ययन नै गर्नुपर्ने बताउँछिन् ।
मौसमी तथ्यांक हेर्दा सन् २००२ बाहेक सबै वर्ष मनसुन औसतभन्दा ढिलासम्म सक्रिय छ । सन् २०१३ मा त नेपालमा अक्टोबर १९ सम्म मनसुन सक्रिय रहेको जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् इन्दिरा कँडेल बताउँछिन् । नेपालमा मुख्यगरी मनसुन बंगालको खाडीबाट प्रवेश गर्छ । केही मात्रामा अरेबियन सागरबाट समेत प्रवेश गर्ने गरेको छ । नेपालमा हिउँदमा वर्षा गराउने पश्चिमी वायु भने भूमध्य सागरबाट प्रवेश गर्ने गरेको विभागका वरिष्ठ मौसमविद् कँडेल बताउँछिन् ।
उनका अनुसार नेपालमा जुनदेखि सेप्टेम्बरसम्मको ४ महिनामा मनसुनको समयमा कूल वर्षाको ८० प्रतिशत वर्षा हुन्छ । यसैगरी प्रि मनसुनको समय (मार्चदेखि मेसम्म) मा करिब १२, मनसुनपछि (अक्टोबर र नोभेम्बर) ४ र हिउँद् (डिसेम्बरदेखि फेब्रुअरी) ३.५ प्रतिशत वर्षा हुने गरेको छ ।
हाल मनसुनी न्यून चापीय रेखा औसत स्थानबाट केही उत्तरतर्फ सरेको छ । भारतको गुजरात र अरब सागर आसपासमा न्यून चापीय प्रणाली छ । अर्को न्यून चापीय प्रणाली भारतको उत्तर प्रदेशमा छ । हाल नेपालमा अरब सागर र बंगालको खाडीबाट आइरहेको जलवाष्पयुक्त वायुको प्रभावले मनसुनी गतिविधि केही सक्रिय रहेको महाशाखाले जनाएको छ । आगामी मङ्गलबारसम्म देशभरका मौसम सामान्य बदली रहने र पूर्व र मध्यका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले प्रक्षेपण गरेको छ ।
प्रकाशित मिति: आइतबार, असोज १२, २०७६