काठमाडौं । नेपालमा सम्पन्न तेस्रो संस्करणको साफ यू–१८ च्याम्पियनसिप फुटबलको उपाधि भारतले जितेको छ । आइतबार हल्चोकस्थित एपीएफको मैदानमा भएको खेलमा बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गर्दै भारत नयाँ च्याम्पियन बनेको हो ।
पहिलो हाफको दोस्रो मिनेटमा विक्रम प्रताप सिंहको गोलमा भारतले अग्रता लिएको थियो । त्यसैगरी खेलको ४० औँ मिनेटमा बंगलादेशका एसिन अर्फातीले गोल गर्दै खेल बराबरी गरे । तर, खेलको इन्जुरी समयमा गोल गर्दै भारतले उपाधि चुम्यो ।
भारतको यो पहिलो उपाधि हो । यसअघि प्रतियोगिताको पहिलो र दोस्रो संस्करणको उपाधि नेपालले जितेको थियो ।
प्रतियोगितामा आयोजक तथा डिफेन्डिङ च्याम्पियनसमेत रहेको नेपाल समूह चरणबाटै बाहिरिएकाे थियाे। माल्दिभ्ससँग १–१ को बराबरीमा रोकिएको नेपाल भुटानसँग ३–० ले पराजित भयो। ह्याट्रिकको लक्ष्य लिएको नेपाल घरेलु मैदानमै प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बनेको थियाे । घरेलु मैदानमा भएको पहिलो संस्करको उपाधि जितेको नेपालले भुटानमा भएको दोस्रो संस्करणको उपाधि पनि जितेको थियो ।
अाजै बिहान भएको खेलमा भुटानलाई १–० को हराउदै माल्दिभ्स तेस्रो भएको थियाे । प्रतियोगितामा नेपाल सहित भुटान, माल्दिभ्स, भारत, बंगलादेश र श्रीलंका गरी छ टाेली सहभागी थिए ।
प्रकाशित मिति: आइतबार, असोज १२, २०७६