काठमाडौँ । नेपाल गुणस्तर तथा नापतौल विभागले तीन समूहका सौन्दर्य प्रशाधन (कस्मेटिक्स) को लागि मापदण्ड तोकेको छ । वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवको अध्यक्षतामा हालै बसेको नेपाल गुणस्तर परिषद्को १०१ औँ बैठकले नेपालमा आयात, उत्पादन, बिक्री वितरण एवं प्रयोग हुँदै आएका विभिन्न सौन्दर्य प्रसाधनहरूको मापदण्डलाई पारित गरी लागू गर्ने निर्णय गरेको हो ।
मापदण्डमा सौन्दर्य सामग्रीहरूका लागि चाहिने साधारण मिश्रण, अमलिय वा क्षारीयपना, सूक्ष्म जीवाणुहरूको उपस्थितिलगायत विभिन्न घातक गह्राैँ धातुहरू जस्तै सिसा (लेड), आर्सेनिक, पारो (मर्करी) र क्याडमियम आदिका अधिकतम मात्रासहितका विशेष मिश्रण, बट्टा/खोलसम्बन्धी व्यवस्था, सूचना (लेबलिङ) सम्बन्धी व्यवस्था, नमुना सङ्कलन र परीक्षण प्रविधि आदिबारे समावेश गरिएको छ ।
नेपाली बजारमा बिक्री वितरण र प्रयोग भइरहेका सौन्दर्य सामग्रीहरूमा पाइने गरिएका अत्यधिक मर्करी, लेड, आर्सेनिक र क्याडमियमजस्ता रसायनहरू विश्व स्वास्थ्य सङ्गठन अनुसार मानव स्वास्थ्य र वातावरणमा असर पुर्याउने विभिन्न मुख्य १० अति घातक रसायनहरू मध्येका चार प्रमुख रसायनहरू हुन् । यी रसायनले स्नायु प्रणाली, स्मरण शक्ति, हेर्ने र सुन्ने क्षमतामा हस, प्रजनन प्रणाली, नवजात शिशु, गर्भवती महिला, शिशुको वृद्धि विकासमा अवरोध पु-याउनुको साथै मृगौला, मुटु, फोक्सो, क्यान्सर, हाड कमजोर वा भाँचिने, मस्तिष्कमा हानी पुर्याउँछ ।
उक्त मापदण्डहरूको प्रभावकारी कार्यान्वयनबाट नेपाल पक्षधर रहेका संयुक्त राष्ट्रसङ्घीय बाल अधिकार महा सन्धि, महिला विरुद्ध सबैप्रकारका भेदभाव उन्मुलनसम्बन्धी महा सन्धि र मिनामाता मर्करी महासन्धिहरुले अन्तर्राष्ट्रिय रूपमा अनुसरण गरेको उद्देश्य पूरा गर्न पनि सहयोग पुग्ने जनस्वास्थ्य तथा वातावरण प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक एवं वातावरण वैज्ञानिक रामचरित्र साहले बताए ।
ठुलो परिणाम प्रयोग हुने कस्मेटिकका सामग्रीहरूसम्बन्धी मापदण्ड नहुँदा जनस्वास्थ्य र खास गरी बालबालिका, गर्भवती तथा स्तनपान गराइरहेको महिलाको स्वास्थ्यमा अनेक समस्या आइरहेको अवस्थामा सरकारले मापदण्ड ल्याएर राम्रो काम गरेको छ उनले भने । कस्मेटिकसम्बन्धी मापदण्डअनुसार आवश्यक ऐन र नियमावली बनाउन पनि उनले माग गरेका छन् ।
प्रकाशित मिति: आइतबार, असोज १२, २०७६