काठमाडाैं । त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिज अन्तर्गत सिंगापुरविरुद्धको खेलमा शनिबार शतक प्रहार गरेका नेपालका कप्तान पारस खड्का विश्वकै पहिलाे कप्तान बनेका छन् ।
क्रिकेट समर्थकमात्र नभइ क्रिकेट बाहिरका व्यक्तिहरुले पनि पारसलाई बधाइ दिइरहेका छन् । भारतको चर्चित पत्रिका ‘हिन्दुस्तान टाइम्स’ ले टी–२० क्रिकेटमा शतक प्रहार गर्ने कप्तानको सूचीमा परेको भन्दै पारसलाई भारतका कप्तान विराट कोहली र अष्ट्रेलियाका कप्तान स्टिभ स्मिथसँग तुलना गरिएको छ ।
नेपाली टाेलीका कप्तान पारस खड्का लक्ष्य पछ्याउने क्रममा शतक प्रहार गर्ने विश्वकै पहिलो कप्तान बनेका छन् । ४९ बलमा शतक बनाएका पारसले ५२ बलमा अविजित एक सय ६ रन बनाए ।
यसअघि नेदरल्याण्ड्सका पिटर सीलरले स्कटल्याण्डविरुद्ध बनाएको ९६ रन नै लक्ष्य पछ्याउँदाकाे उच्च स्कोर थियो । इंग्ल्याण्डविरुद्ध स्टिभ स्मिथले बनाएको ९० रनलाई पनि पारसले उछिनेका छन्, जुन कप्तानका रुपमा उनकाे तेस्रो ठूलो स्कोर थियो । यस्तै वेस्ट इण्डिजका क्रिश गेलले अष्ट्रेलियाविरुद्ध बनाएको ८८ रन कप्तानका रुपमा तेस्रो उच्च रन थियो । यो सूचीमा भारतीय कप्तान विराट काेहली आठौँ स्थानमा छन् । उनले कप्तानका रुपमा लक्ष्य पछ्याउँदा ८२ रन बनाएका थिए ।
नेपालको सिनियर टिममा एक दिवसीय र टी–२० मा शतक प्रहार गर्ने खेलाडी मात्र नभइ पहिलो कप्तान पारसले सिंगापुरविरुद्ध नेपाललाई जिताउँदा विभिन्न रेकर्ड बनाएका हुन्
प्रकाशित मिति: आइतबार, असोज १२, २०७६