काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको नाममा नक्कली (फेक) फेसबुक अकाउन्ट बनाएर चरित्र हत्याको प्रयास भएको छ ।
मुख्यमन्त्री शाहीकै नाम र फोटो प्रयोग गरेर नक्कली आइडी बनाएर विभिन्न व्यक्तिलाई म्यासेजमार्फत अनेक विषयमा निर्देशन दिने गरेको पाइएको हो । त्यसैगरी कतिपय व्यक्तिलाई राजनीतिक शक्तिको आडमा विभिन्न मागहरूसमेत राख्ने गरेको पाइएको छ ।
यसरी मुख्यमन्त्रीकै नामको फेक आडी बनाएर विभिन्न गैरकानुनी गतिविधि गरेको थाहा पाएपछि यसबारे मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ध्यानाकर्षण भएको जनाएको छ । मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव खेमबहादुर सिंहले पे्रस विज्ञप्ति जारी गरेर नक्कली फेसबुक अकाउन्टको भ्रममा नपर्न आग्रह गरेका छन् ।
सिंहद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सामाजिक सञ्जालको दुरुपयोग गर्दै माननीय मुख्यमन्त्रीज्यूको चरित्र हत्या गर्ने तथा आफ्नो व्यक्तिगत स्वार्थपूर्ति गर्ने उद्देश्यका साथ नक्कली आइडीबाट विभिन्न व्यक्ति तथा निकायमा च्याट सम्पर्कमार्फत अवाञ्छित निर्देशन तथा माग गर्ने गरिएको पाइएको छ । यस्तो क्रियाकलापको भ्रममा नपर्न सरकारी तथा गैरसरकारी निकाय, शुभचिन्तक तथा आम जनसमुदायसँग अनुरोध गर्दछौँ ।’
स्वकीय सचिवालयले नक्कली फेसबुक आइडी प्रयोग गर्ने व्यक्ति पहिचान गरी कानुनी कारबाहीको प्रक्रिया अघि बढाउन सम्बन्धित निकायमा जानकारी गराइसकिएकोे जनाएको छ । मुख्यमन्त्रीको आधिकारिक फेसबुक अकाउन्टको लिंक महेन्द्र डट शाही डट १६५ रहेकाले यसबाहेक उनको नाम जोडेर चलाइएका अन्य आइडीको विश्वास नगर्न विज्ञप्तिमार्फत् आग्रह गरिएको छ ।
प्रकाशित मिति: आइतबार, असोज १२, २०७६