नेपाल जिम्बावेसँग ५ विकेटले पराजित भएको छ । १ सय ३३ रनको लक्ष्य पछ्याएको जिम्बावेले १८.१ ओभरमा ५ विकेट गुमाउँदै पुरा गर्यो ।
जिम्बावेको जितमा रिचमन्ड मुतुम्बामी २८ बलमा ४ छक्का र १ चौका सहित ४० रनमा अविजित रहे । त्यस्तै रेयान बर्लले ३६ बलमा २ छक्का र ३ चौका सहित ४१ रनमा अविजित रहँदै टोलीको जित पक्का गरे । एक समय १० ओभरमा ६४-५ को कमजोर अवस्थामा पुगेको जिम्बावेलाई छैटौं विकेटका लागि बर्ल र मुतुम्बामीले ६९ रनको अविजित साझेदारी गर्दै जित पक्का गरे ।
नेपालका लागि सन्दीप लामिछानेले ४ ओभरमा १५ रन खर्चेर ३ विकेट लिए । कप्तान पारस खड्काले २ ओभरमा १० रन खर्चेर १ विकेट लिए । पहिलो डेब्यू खेल खेलेका कुशल मल्लले ३ ओभरमा २८ रन खर्चिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३२ रन बनाएको थियो। उपकप्तान दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ४० रन जोडे । कप्तान सन विलियम्सको १७ ओभरको तेस्रो बलमा तेन्दाइ चतराबाट क्याच आउट हुनुअघि दीपेन्द्रले ३३ बलमा ५ चौका प्रहार गरे । तल्लोक्रमका सोमपाल कामीले १४ बलमा ३ छक्का सहित २५ रनमा अविजित रहे । विकेटकिपर
विनोद भण्डारी ११ रनमा नट आउट रहे ।
दोस्रो ओभरको अन्तिम बलमा ओपनर इशान पाण्डे ४ रनमा आउट भएका थिए । तेन्दाई चतराको बलमा लामो सट खेल्ने धुनमा क्याच आउट हुनुअघि इशानले ८ बलमा १ चौका प्रहार गरे । सातौ ओभरको चौथो बलमा आरिफ शेख ११ बलमा १ चौका सहित ८ रनमा क्याच आउट हुन पुगे । आठौं ओभरको तेस्रो बलमा रयान बुर्लको बलमा कप्तान पारस गलत सट खेल्दै १८ रनमा क्याच आउट भए । पारसले २२ बलमा ३ चौका प्रहार गरे ।
त्यस्तै डेब्यू खेल खेलेका युवा अलराउन्डर कुशल मल्ल २ रनमा आउट भए । नेभिल मड्जिवको १६ औं ओभरको दोस्रो बलमा ठूलो सटको धुनमा सन्दीप जोरा १७ रनमा क्याच आउट भए । जिम्बावेका लागि कप्तान सन विलियम्सले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिए । वेलिंगटन मसाकाड्जा,नेभिल मड्जिव,तेन्दाइ चतरा र रयान बर्लको १-१ विकेट रह्यो । नेपालले शनिवार सिंगापुरसँग खेल्नेछ ।
प्रकाशित मिति: शनिबार, असोज ११, २०७६