काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले नौबिसे-कलंकी सडकखण्डमा भइरहेको सवारी जाम हटाउन निर्देशन दिएका छन् ।
ट्राफिक जाम अत्यधिक बढेको गुनासो आएपछि बादलले सम्बद्ध सरकारी अधिकारीलाई तत्काल आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएका हुन्।
गृहमन्त्री बादलले काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, महानगरीय प्रहरी कार्यालयका प्रमुख डीआईजी शैलेश थापा क्षेत्री, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीम ढकाललाई शुक्रबार मन्त्रालयमा बोलाएर जाम हटाउन निर्देशन दिएका हुन्।
गृहमन्त्री थापाले यस क्षेत्रमा ट्राफिक प्रहरीको जनशक्ति बढाउन, व्यस्त समयमा ठूला सवारी साधनको आवागमनमा रोक लगाउन, बिग्रिएका सवारीसाधन हटाउन आवश्यक क्रेनको व्यवस्था मिलाउन निर्देशन दिएका हुन् ।
जाममा परेका बिमारीको आवश्यकता अनुसार उद्धारका सबै उपाय अपनाउनसमेत गृहमन्त्री थापाले निर्देशन दिएको उनका प्रेस सल्लाहकार किरण भट्टराईले जानकारी दिए ।
चाडपर्वको मौका छोपी हुनसक्ने कालोबजारी तथा यात्रुलाई आवश्यक टिकट वितरणमा समेत केही जनगुनासो आएको भन्दै निगरानी र कारबाही बढाउन बादलले निर्देशन दिएका थिए। उनले सडक सुरक्षा तथा मर्मतका सम्बन्धमा भौतिक पूर्वाधार मन्त्रालयसँग समेत समन्वय भइरहेको बताएका थिए।
प्रकाशित मिति: शुक्रबार, असोज १०, २०७६