रुसले सुदूर पूर्वी तटीय क्षेत्रमा अनधिकृत रुपमा माछा मारेको अभियोगमा २ सय ६० जना उत्तर कोरियाली माझीलाई पक्राउ गरिएको जनाएको छ ।
गत साता पनि जापानी सामुद्रिक जलक्षेत्रबाट १ सय ६० जनाभन्दा बढी उत्तर कोरियाली माझीलाई पक्राउ गरेको खबर सार्वजनिक भएको थियो ।
एफएसबी सुरक्षा सेवाका अनुसार उत्तर कोरियाका २ सय ६० जना माझीलाई पाँच वटा मोटरबोट सहित पक्राउ गरिएको छ । रुसी समाचार संस्थाले उत्तर कोरियाली माझीहरुले कुनै प्रतिरोध नगरेका र उनीहरुलाई सुदूरपूर्वी नाखोट्का बन्दरगाहमा राखिएको जनाएको छ ।
पक्राउ परेका माझीहरुबाट माछा मार्न प्रयोग हुने ३० हजारभन्दा बढी चारो पनि बरामद गरिएको छ । गत साता, एफएसबीका अनुसार रुसी तटरक्षकहरुको उत्तर कोरियाली माझीहरुसँग सामान्य झडप पनि भएको थियो ।
जापान समुद्रमा माछा मार्ने अधिकारका विषयमा रुस, उत्तर कोरिया र जापानबीच नियमितझैं झडप हुने गरेको छ । जुलाईमा उत्तर कोरियाले १५ जना रुसी सहित एक माछा मार्ने डुङ्गा नियन्त्रणमा लिएको थियो ।
प्रकाशित मिति: शुक्रबार, असोज १०, २०७६