जाजरकोट नलगाड नगरपालिका– १० का अनक नेपाली पारिश्रमिक माग्दै र ठेकेदार खोज्दै धाउन थालेको दुई वर्ष भयो । तर उनले काम गरेबापतको पारिश्रमिक पाएका छैनन् । यो अवधिमा न त उनले काम गरेको पैसा पाउनुभयो न त काम लगाउने ठेकेदारलाई नै भेट्न पाएन् ।
काममा साक्षी पठाएर काम गर्न लगाए । अहिले काम सकिएको दुई वर्ष भयो । पैसा दिएको छैन , अनकले भने, पारिश्रमिक खोज्दै दुई वर्ष बित्यो । ऋण काढेर ठेकेदार खोज्न जानुपर्ने बाध्यता छ । पारिश्रमिक पाउने आशामा दुई वर्ष बित्यो । पैसा पाउला र ऋण तिराैंला भनेको अझ त ब्याज मात्र बढेको छ ।
अनक मात्रै होइनन्, एउटै गाउँका ५० जनाभन्दा बढी मजदूरले काम गरेको ज्याला पाएका छैनन् । नलगाड नगरपालिकामा निर्माण भएको चौखा–रजिक–बानियाँ गाउँ सडकका मजदूरले पैसा पाएका छैनन् । आज दिन्छु भन्छ, भोलि दिन्छु भन्छ । तर ठेकेदारले भनेको आजभोलि अझै आएन् । अहिले फोन गर्दासमेत सम्पर्क हुँदैन , धनबहादुर मल्लले भने, काम गरेर घर चलाउने हामी, पैसा नहँुदा के खाने भन्ने समस्या प¥यो । ऋण सापट गरेको ठाउँमा पनि तिर्नै पाइएको छैन । सामान दिनै छाडे ।
अहिले आएर निर्माणको जिम्मा लिएका ठेकेदार जिल्ला समन्वय समिति जाजरकोटका सदस्य तेजविक्रम शाह र वीरबहादुर सिंह कसले पैसा दिने टुङ्गो नै छैन । ठेकेदारबीच पैसा कसले दिने भन्ने टुङ्गो नलागेपछि स्थानीय चिन्तित बनेका छन् ।
२६ लाखको ठेक्का ७ लाखमा झारियो
नलगाड नगरपालिकामा निर्माण भएको चौखा–रजिक–बानियाँ गाउँँ सडकको कुल लागत २६ लाख ३४ हजार ६ सय २६ रुपैयाँ छ । ठेकेदारले पैसा नै नदिएर आलटाल गर्दै आएका छन् । पछि स्थानीयवासीले प्रहरीमा उजुरी दर्ता गरेपछि ७ लाख दुई हजार ८ सय ७ रुपैयाँ दिने सहमतिमा गत साउन ४ गते ठेकेदारले प्रहरी कार्यालयमा कागज गरेका थिए ।
प्रहरी कार्यालयमा गरिएको कागजमा साउन ५ गते ३ लाख ५० हजार र साउन मसान्तमा ३ लाख ५२ हजार ८ सय ७ ठेकेदार वीरबहादुर सिंहले अनक नेपालीलाई बुझाउने सहमति भएको प्रहरी प्रमुख श्यामबहादुर खत्रीले जानकारी दिए ।
प्रहरी कार्यालयमा गरिएको कागजअनुसार सडकको रकम कमिसनमा बढी खर्च भएको उल्लेख गरिएको छ । कागज गरेको दुई महिना बित्दा पनि ठेकेदारको पैसा दिने कुनै सुरसार गरेका छैनन् । सडक डिभिजन कार्यालय चौरजहारीले २०७५ असार २५ गते २६ लाख ३४ हजार ६ सय २६ सडकको लागत भएको मूल्यांकन गरेको थियो ।
१० महिनासम्म कामदारको सटेन चेक
ठेकेदार तेजविक्रम शाहले कामदारलाई दिएको नेपाल बैंक लिमिटेडको चेक जारी गरेको १० महिना बित्दा पनि सटेको छैन । कामदार बुद्धिबहादुर बस्नेतको नाममा काटिएको तीन लाख बराबरको चेक सट्न नसकेको हो ।
चेक बोकेर बैंक गएका अनक नेपालीले भने, बैंकका कर्मचारीले खातामा पैसा नभएको भन्दै फर्काएका छन् । नेपाल बैंक लिमिटेड जाजरकोट शाखाको ०९४४२५३५२०१०१ नम्बरको चेकमा पैसा नसटेपछि ठेकेदारले भुलाउन खाजेको उनले बताए । जिल्ला अदालत जाजरकोटले प्रमाण नपुगेको भन्दै मुद्दा दर्ता गर्न नमानेको नेपालीले बताए ।
भाइलाई जापान, श्रीमतीलाई जागिर खुवाउने आश देखाए : ठेकेदार सिंह
ठेकेदार तेजविक्रम शाहले भाइलाई जापान र श्रीमतीलाई जागिर खुवाउने आश देखाएको अर्का निर्माण व्यवसायी वीरबहादुर सिंहले बताए । प्रहरी कार्यालय जानुभन्दा पहिले ठेकेदार तेजविक्रम शाहले मेरो सालो साली जापानमा छन् । म तिम्रो भाइलाई पनि जापान पठाइदिन्छु । भाइ तिमीलाई समस्या परे जुनसुकै कुरामा हामी सपोर्ट गर्न तयार छौँ , उनले भने, अहिले तिमीसँग के प्रमाण छ देखाउ भन्नुहुन्छ , सिंहले भने, मैले एक करोडसम्मको प्रमाण जुटाएँ । अरु जुटाउन सकेको छैन ।
सबै पत्रकारले कुरा बुझेका छन् तपाईं पनि बुझ्नुहोस् : ठेकेदार शाह
जिल्ला समन्वय समिति जाजरकोटका सदस्य एवं निर्माण व्यवसायी तेजविक्रम शाहले जाजरकोटका सबै पत्रकारले कुरा बुझेका छन् । तपाईं पनि कुरा बुझ्नुहोस् भनेका छन् । उनले भने, जाजरकोटका सबै पत्रकारले यो कुरा बुझेका छन् । मैले भुक्तानी गर्ने होइन, मैले अख्तियारीको सबै जिम्मा वीरबहादुर सिंहलाई दिएको हुँ ।
पैसा दिने काम वीरबहादुरको हो । मैले दिने होइन । मैले वीरबहादुरका आफन्तलाई विदेश जान पनि कुनै किसिमको आश देखाएको होइन । उनले सबैलाई झुठ बोल्दै आएका छन् । ऊ जहिले पनि भाग्दै हिँड्दै आएको छ । यसको भुक्तानीको विषयमा मलाई भन्दा वीरबहादुरसँग कामदारले पैसा माग्नुपर्छ । मलाई कसैको पैसा ठग्ने विचार छैन । निर्माण व्यवसायी शाहको भनाइ छ ।
उनले भने, मैले अनक नेपालीलाई भनेको छु तपाईं वीरबहादुर नाउँमा अदालतमा मुद्दा दिनुहोस् हामी साक्षी बस्न तयार छौँ । तीन लाखको चेक दिएको साँचो हो । तीन लाख फिर्ता दिने भनेर बनाएको चेक हो । म ठेकेदार मात्र होइन, जनप्रतिनिधि पनि हुँ । म ठग्ने प्रयासमा छैन काम नहुँदा चेक नसाट्ने भएको हो ।
जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले भने, लेनदेनको कारोबार प्रशासनले हेर्न नमिल्ने भए पनि कामदार ठगिएको गुनासो आएकाले ठेकेदार तेजविक्रम शाहलाई बोलाएर छलफल गर्ने छौँ । जनता ठगिएको महसुस गरेर प्रशासनले एक चरणमा छलफल गर्ने निर्णय गरेको प्रजिअ पन्तको भनाइ छ ।
प्रकाशित मिति: शुक्रबार, असोज १०, २०७६