धरान । धरान–९ गौतमपथस्थित विमल श्रेष्ठ सञ्चालक रहेको अपएरो नामक कपडा पसलमा कपडा किन्न गएका धरान १९ नम्बर वडाध्यक्ष पूर्ण लिम्बूका छोरा पूजन लिम्बूमाथि कैँची प्रहार भएकाे छ ।
उनलाई छुरी प्रहार गर्ने एक युवालाई प्रहरीले शुक्रबार बिहान पक्राउ गरेको छ । लिम्बूलाई बिहीबार साँझ पसलमै आक्रमण भएको थियो ।
पसलमा कपडा हेरिरहेका बेला धरान–९ गौतमपथ बस्ने २५ वर्षीय अब्दुल भन्ने कलाम मियाँले कपडा काट्ने कैँचीले पूजनको दाहिनेतर्फको कोखा र पछाडि ढाडको भागमा तीन ठाउँमा प्रहार गरी गम्भीर घाइते बनाएका थिए ।
घटनालगत्तै फरार रहेका मियाँलाई धरान–२ भानुचोकमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको इप्रकाका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिए । मियाँविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता प्रक्रियामा रहेको र घटनाको कारणबारे अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक न्यौपानेले जनाए ।
धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनकाे उपचार भइरहेको छ । उनको कोखाबाट आन्द्रा निस्किएकाले राति नै शल्यक्रिया गरिएको थियो । घाइतेलाई सर्जरी वाडमा राखिएको छ । उनको अवस्था सामान्य रहेको चिकित्सकले जनाएका छन् ।
प्रकाशित मिति: शुक्रबार, असोज १०, २०७६