अमेरिका । नेपालले बाेलाएकाे सार्क मन्त्रीस्तरीय बैठकमा भारत र पाकिस्तानका मन्त्रीहरू आपसमा आमनेसामने नभईकनै बैठक सकिएकाे छ ।
संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिकाको न्यूयोर्क पुगेका विभिन्न मुलुकका प्रतिनिधिमध्ये दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का विदेशमन्त्रीहरुको अलग्गै सार्कस्तरीय बैठक बसेकाे हाे ।
बैठकमा सार्क मुलुकका विदेशमन्त्रीहरुले क्षेत्रीय सम्बन्ध, सार्कको भविष्य र आवश्यकताका बारेमा चर्चा गरेका थिए । समाचार एजेन्सीहरुका अनुसार भारतका विदेशमन्त्री एस जयशंकर बैठकको सुरुमा उपस्थित थिए । उनले बैठकमा आफ्ना धारणा राख्दा पाकिस्तानी विदेशमन्त्री शाह महमुद कुरेसी भने उपस्थित थिएनन् ।
आफ्ना धारणा राखेर भारतीय विदेशमन्त्री जयशंकर बैठकस्थलबाट बाहिरिएपछि पाकिस्तानी विदेशमन्त्री बैठक कक्षमा प्रवेश गरेका थिए । कुरेसीका अनुसार भारतले कश्मीरमा लगाएको विभिन्न प्रतिबन्ध अन्त्य नगरेसम्म भारतसँग कुनै प्रकारको सम्पर्क नगर्ने नीतिअनुसार सार्क विदेशमन्त्रीस्तरीय बैठकमा भारतीय विदेशमन्त्रीको उपस्थितिलाई पाकिस्तानले वहिष्कार गरेको हो ।
‘भारतले कश्मीरका नागरिकको मानवअधिकार रक्षा गर्नु पर्छ, उनीहरुको संरक्षण सुनिश्चित गर्नुपर्छ, उनीहरुमाथि हुँदै आएको दमन र शोषण बन्द गरिनुपर्छ,’ पाकिस्तानका विदेशमन्त्री कुरेसीले भने ।
पाकिस्तानी विदेशमन्त्रीले सार्क विदेशमन्त्रीस्तरीय बैठकमा भारतीय विदेशमन्त्रीको उपस्थिति वहिष्कार गरेकोबारे मिडियाले भारतीय विदेशमन्त्रीसँग प्रतिक्रिया सोधेका थिए । भारतीय विदेशमन्त्री जयशंकरले यसबारे केही प्रतिक्रिया दिएनन् ।
पाकिस्तानी विदेशमन्त्रीलाई यसै विषयमा आधारित रहेर सञ्चारकर्मीले प्रतिक्रिया सोधेका थिए । उनले भने, ‘कश्मीर मामलामा विरोधस्वरुप भारतीय मन्त्रीसँग हामी बस्न नचाहेका हौं ।’
संयुक्त राष्ट्रसंघको महासभामा विभिन्न मुलुकका राष्ट्राध्यक्ष, सरकार प्रमुखले आफ्नो मुलुकको प्रतिनिधित्व गर्दै छन् ।
प्रकाशित मिति: शुक्रबार, असोज १०, २०७६