काठमाडौं । यस वर्षको दसैँ वर्षाकै बीचमा बित्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुन अन्त्य हुने औसत अवधिभन्दा तीन दिन पर पुगेकाले दसैँ हिलोमय हुने भएको हो ।
नेपालको मध्य र पूर्वी भागमा दक्षिणपूर्वी जलवाष्पयुक्त हावाको प्रभाव देखिएकाले मनसुनी गतिविधि अझै बढ्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मनसुन सकिनका लागि जुन किसिमको वातावरण आवश्यक पथ्र्यो, त्यो वातावरण अनुकूल नदेखिएको मौसमविद्ले बताएका छन् । तल्लो वायुमण्डलमा पश्चिमी वायु चल्नुपर्छ तर अहिले पूर्वी वायु नै सक्रिय रहेकाले मनसुनको समयावधि लम्बिएको मौसमविद् समीर श्रेष्ठले बताए ।
‘केही दिनयता निरन्तर रुपमा बंगालको खाडीबाट जलवाष्पयुक्त हावा आइरहेकाले दसैँसम्म नै मनसुन रहने सम्भावना देखिएको हो’, श्रेष्ठले भने । पश्चिमी वायु सक्रिय भएलगत्तै नेपालमा चिसो बढ्ने अनुमान गरिएको छ ।
सामान्यतया नेपालमा जुन १० मा मनसुन भित्रिएर सेप्टेम्बर २३ मा अन्त्य हुने गथ्र्यो । तर यसवर्ष १० दिन ढिलो गरी जुन २० मा मनसुन भित्रिएको थियो । गत वर्ष पनि अक्टोबर ५ मा मनसुन बाहिरिएको थियो ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा लामो समयको मौसमी गतिविधि प्रक्षेपण गर्ने प्रविधि नभए पनि एक सातासम्मको गतिविधि प्रक्षेपण गर्न सकिने प्रविधि छ । सो अनुसार दसैँको सुरुआती दिनमा देशका धेरैजसो स्थानमा वर्षा हुने सम्भावना देखिन्छ ।
हाल देशभरी सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम खालको वर्षा भइरेहको महाशाखाले जनाएको छ । यो स्थिति शनिबारसम्म यथावत रहने बताइएको छ ।
प्रकाशित मिति: बिहीबार, असोज ९, २०७६