काठमाडौं । महोत्तरी जिल्लाको एक गाउँका पुरुषले आफ्नै गाउँकी एक महिलासँग प्रेम गरे । महिला पनि ती पुरुषको मायाजालमा फस्दै गइन् । पुरुषले विवाहको प्रस्ताव गरे । महिलाले स्वीकारिन् । उनीहरु भागेर भारत गएर बिहे गर्ने र उतै काम गरेर बस्ने सल्लाह गरेर नेपाल छाडे ।
भारतको बिहारस्थित सीतामढी पुगेपछि एउटा कोठामा गए उनीहरु । त्यसपछि म केही सामान लिएर आउँछु भनेर निस्किएका पुरुष फर्किएर आएनन् । त्यसपछि उनी पुरुषलाई खोज्न बाहिर जान खोज्दा केही पुरुष र महिला आएर उनी बेचिएको बताएपछि उनी छाँगाबाट खसिन् ।
यो कुनै फिल्मको कथा होइन । यो सत्य घटना हो, महोत्तरी जिल्लाको एकडारा गाउँपालिका वडा नम्बर ४ को । सोही ठाउँ बस्ने ती महिला बेचिएको २५ दिनपछि भागेर घर फर्किन सफल भएकी हुन् ।
एकडारा–४ कै सुरेश बैठा नामक पुरुषले सीतामढी सहर पु¥याएर बेचेर फरार भएका थिए । ती महिला त्याँबाट भाग्न सफल भएर बुधबार आफ्नो घर आएकी छिन् । त्यसपछि उनको परिवारले जिल्ला प्रहरी कार्यालयमा घटनाबारे जाहेरी दिएको छ ।
बैठाले उनलाई प्रेममा फसाएर बिहे गर्छु भन्दै गत भदौ १४ गते घरबाट भगाएर लगेको र सीतामढीस्थित एउटा घरमा बन्द गरेर भागेको जिल्ला प्रहरी कार्यालयमा पीडितले बयान दिएकी छिन् । घरबाट भागेर गइरहेकै बेला बैठाले बसमै आफूले लगाएको गरगहनासहित ५० हजार नगदसमेत आफूले सुरक्षित राख्ने भन्दै लिएको पीडितले बताइन् ।
बैठा कोठामा नआएपछि बाहिर निस्किन खोज्दा आफूलाई २÷३ जना पुरुष र महिलाले समातेर राख्दै तिमी बेचिएकी छौ, अब यहीँ बस्नुपर्छ र यहीँ तिम्रो बिहे हुन्छ भनेकाले आफू बेचिएको थाहा पाएको उनले सुनाइन् ।
यता, महिला बेपत्ता भएकै दिन उनका पति र आफन्तले खोजबिन गर्दै जिल्ला प्रहरी कार्यालयमा समेत हुलिया निवेदन दिएका थिए । त्यतिबेलै बैठाले नै उनलाई बेपत्ता बनाएको भन्दै बैठाउपर शरीर बन्धक मुद्दा दायर गर्दा प्रहरीले मुद्दा दर्ता गर्न नमानेको उनका पतिले बताए ।
प्रकाशित मिति: बिहीबार, असोज ९, २०७६