इटहरी । इटहरी उपमहानगरपालिकाले नगरका विभिन्न ठाउँमा निःशुल्क वाइफाई सेवा उपलब्ध गराएको छ ।
सूचना प्रविधि अधिकृत ओसन चौधरीका अनुसार इटहरी उपमहानगरले वल्र्ड लिंकसँगको सहकार्यमा तत्कालका लागि उपमहानगर परिसर, रेयुकाई चौतारी इटहरी चोक, इटहरी बसपार्क, बुढीगंगा मुक्तिघाट, लक्ष्मीनारायण मन्दिर पचरुखी चोक, वडा नम्बर २० को वडा कार्यालय परिसर, तरहरा बजार र तालतलैया पार्कमा निःशुल्क वाइफाई सेवा उपलब्ध गराएको हो ।
इटहरीका अन्य ठाउँमा समेत विस्तार गर्ने योजना रहेको सूचना प्रविधि अधिकृत चौधरीले जानकारी दिए । सर्वसाधारणमा सूचना प्रविधिमा सहज पहुँच स्थापित गर्दै सूचना प्रविधिमैत्री उपमहानगर बनाउन फ्रि वाइफाई सेवा उपलब्ध गराउन थालिएको उपमहानगरले जनाएको छ ।
निःशुल्क इन्टरनेट सेवा पाएपछि सर्वसाधारण पनि खुसी देखिएका छन् ।
प्रकाशित मिति: बिहीबार, असोज ९, २०७६