चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणलाई लक्षित गरी सरकार उच्च स्तरीय सुरक्षा योजना बनाउन लागिपरेको छ।
चिनियाँ राष्ट्रपति भारत हुँदै २६ असोजमा काठमाडौं आउने बताइएको छ भने २७ असोजमा उनी बेइजिङ फर्कने सुरक्षा उच्च स्रोतले बताएको छ । तथापि, औपचारिक रूपमा सीको भ्रमणको मिति सार्वजनिक गरिएको छैन ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुने शिखर सम्मेलन पछि उनी नेपाल आउने बताइएको छ । उनी सोल्टी होटलमा बस्ने कार्यक्रम दुतावास स्रोतले बताएको छ । जसका कारण प्रहरीले उनको भ्रमण हुने क्षेत्रमा अहिलेदेखि नै विशेष निगरानी सुरु गरेको छ ।
२६ असोजमा उनले नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्नेछन् भने २७ असोजमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित अन्य राजनीतिक दलका नेतासँग भेट्ने कार्यक्रम छ । सरकारले सुरक्षा रणनीतिसहित यी सबै विषयमा विशेष सुरक्षा संयन्त्र तयार गर्न सुरु गरेको छ ।
चिनियाँ राजदूतावासले समेत सुरक्षाको अवस्थाको अध्ययन गरिरहेको छ । सीको नेपाल भ्रमण हुने निश्चित भएसँगै चीनबाट उच्चस्तरका कर्मचारी नेपाल आइसकेका छन् । उनीले सुरक्षा अवस्थाको विश्लेषण गर्दै दूतावासमार्फत सी भ्रमणका लागि आफ्ना तर्फबाट तयारी अघि बढाइरहेका छन् ।
‘सी’को सुरक्षालाई निगरानी गर्न चिनियाँ सुरक्षाकर्मीको विशेष टोलीसमेत नेपाल आइसकेको स्रोतको दाबी छ । ‘उनीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सूक्ष्म निरीक्षणसमेत गरिसकेका छन् ।
यसैगरी मुस्ताङ, रसुवा, नुवाकोट र गोरखाका नाकामा समेत निरीक्षण गरेका छन्,’ स्रोतले भन्यो । ‘सी’ भ्रमणका समयमा नेपाली सुरक्षाकर्मीभन्दा अघिको ‘रिङ’मा चिनियाँ सुरक्षाकर्मी नै रहने बताइएको छ । आजको राजधानी दैनिकमा समाचार छ ।
प्रकाशित मिति: बिहीबार, असोज ९, २०७६