सार्वजनिक महत्त्व तथा सरकारका नीति तथा कार्यक्रमका विषयमा छलफल माग गर्दैै प्रतिनिधि सभामा दर्ता भएको दर्जनभन्दा बढी प्रस्ताव स्वतः निष्क्रिय भएका छन् । चौथो अधिवेशनमा दर्ता भएका १५ मध्ये १४ वटा प्रस्ताव छलफलबिनै निष्क्रिय भएका हुन् ।
एउटा अधिवेशनमा दर्ता भई छलफलमा नआएका प्रस्ताव अधिवेशन अन्त्यसँगै स्वतः निष्क्रिय हुने प्रचलन छ । सोहीअनुसार प्रस्ताव निष्क्रिय भएका हुन् । चालू अधिवेशनमा नेपाली कांँग्रेस सांसद् डा.मीनेन्द्र रिजाल प्रस्तावक रहेको बाढी पहिरोसम्बन्धी सार्वजनिक महत्वको प्रस्तावमा मात्र छलफल भयो ।
संसदीय अभ्यासमा सरकारलाई समसामयिक महत्त्वका विषय र नीति तथा कार्यक्रममा उत्तरदायी बनाउने उद्देश्यले पनि यस्ता प्रस्ताव दर्ता हुने गरेका छन् । प्रस्तावको छलफल सभाध्यक्ष र विभागीय मन्त्रीको समन्वयमा तय हुने गर्छ तर चौथो अधिवेशनमा दर्ता भएका प्रस्तावमध्ये अधिकांश छलफल नभएका हुन् ।
प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले अधिवेशन अन्त्यसँगै दर्ता भएका सबै प्रस्ताव स्वतः निष्क्रिय भएको बताउनुभयो । उनले भने, ‘छलफल नभएका प्रस्ताव अब निष्क्रिय हुन्छन् । अधिवेशन अवधिमा छलफल नभएका प्रस्तावको प्रयोजन पनि अधिवेशन सकिएसँगै सकिन्छ । आजकाे गोरखापत्रमा समाचार छ ।
प्रकाशित मिति: बिहीबार, असोज ९, २०७६