काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले खेतीयोग्य एक टुक्रा जमिन पनि खाली नराखेर आधुनिक र व्यावसायिक उत्पादनका लागि किसान नेता–कार्यकर्तालाई आग्रह गरेका छन् ।
नेकपा निकट अखिल नेपाल किसान महासंघको प्रथम केन्द्रीय कमिटीको बैठक र सपथ ग्रहण समारोहलाई आज ललितपुरको धोबीघाटमा सम्बोधन गर्दै उनले कृषिमा आधुनिकीरण र व्यावसायीकरणका लागि सरकारले चलाएका पहलबारे पनि जानकारी दिए ।
‘म आफैँ हलो जोतेर, खेती गरेर आएको हुँ । मलाई जमिन, सिँचाई र उत्पादनबारे राम्रोसँग थाहा छ’, प्रधानमन्त्री ओलीले भने, ‘सिँचाइ र प्रविधिको उचित प्रबन्ध गर्न सकिए सानो ठाउँमा पनि धेरै उत्पादन गराएर लाभ लिन सकिन्छ ।’
देशलाई आत्मनिर्भर बनाउन उत्पादनलाई निर्यात गर्ने कामको अगुवाई गर्न महासङ्घका केन्द्रीय नेतालाई आग्रह गर्दै प्रधानमन्त्री ओलीले कृषि क्षेत्रमा अबको क्रान्ति आधुनिकीकरण, व्यावसायिकरण र उन्नत कृषितर्फ हुने उल्लेख गरे ।
हेर्नुहोस् मन्तव्यको पूर्णपाठः
नेपालको किसान आन्दोलन र वामपन्थी एवं लोकतान्त्रिक आन्दोलनका हस्ती वामदेव गौतमज्यू,
कार्यक्रमका सभापति र किसान आन्दोलनका नेता साथीहरु !
म यहाँ नेपालका थुप्रै पुराना कम्युनिष्ट आन्दोलन, वामपन्थी आन्दोलन र किसान आन्दोलनका हस्ती साथीहरु देखिराखेको छु । उहाँहरुलगायत सम्पूर्ण आज यस समारोहमा सपथ ग्रहण गर्नुहुने साथीहरु र सहभागी सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरु !
सबैभन्दा पहिले त म आज केन्द्रीय कमिटीको सदस्यको रुपमा सपथ ग्रहण गर्नुहुने सम्पूर्ण किसान नेताहरुमा हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु । तपाईंहरुको कार्यकाल अत्यन्तै सफल रहोस् ।
नेपालको कृषि क्षेत्रमा अबको क्रान्ति फरक ढंगले आधुनिकीकरणको रुपमा, व्यवसायिक कृषिको रुपमा, उन्नत कृषिको रुपमा र प्रविधिको प्रयोग गरेर अगाडि जाने कृषिको रुपमा, देशलाई आत्मनिर्भर बनाउने कृषि र देशको उत्पादनलाई निर्यात गर्न सक्ने कृषिको रुपमा अगाडि बढाउने कुरामा तपाईहरुले नेतृत्व प्रदान गर्न सक्नुहोस्, अगुवाई गर्न सक्नुहोस् र किसान नेताको रुपमा स्थापित रहन सक्नुहोस् । मेरो धेरै धेरै शुभकामना छ । सिंगै पार्टीको तर्फबाट म यहाँहरुमा शुभकामना व्यक्त गर्न चाहन्छु ।
हामी एउटा खास अवस्थामा छौं । आज यहाँ तपाईहरुले किसान महासंघको केन्द्रीय सदस्यको रुपमा सपथ ग्रहण गर्नुपरेको पनि देशको आन्दोलनको विशेष अवस्थाको कारणले हो । तपाईंहरु यसभन्दा अगाडि पनि धेरै पटक किसान संघको केन्द्रमा बसिसक्नु भएको होला । थोरै साथीहरु हुनुहुन्छ पहिलो पल्ट बसेको तर धेरै यस भन्दा अगाडि पनि किसान महासंघको केन्द्रमा साथीहरु हुनुहोला । फेरि तपाईहरुले केन्द्रमा बस्न केन्द्रीय कमिटीको सपथ यसरी लिन किन पर्यो ? हामी दुई पार्टी हिजोको नेकपा (एमाले) र माओवादी केन्द्र एकजुट भएर आन्दोलनको एउटा नयाँ सुदृढ सफल शक्ति अगाडि बढायौं । त्यसले हाम्रा सम्पूर्ण पार्टी कमिटीहरु र पार्टीसँग आवद्ध र निकट जनवर्गीय, पेशागत वा सामुदायिक संगठनहरुलाई समेत एकताबद्ध र एकीकृत गर्नुपर्यो । यसै शिलशिलामा किसान महासंघ एकीकृत भयो र आज तपार्इँहरु एकताबद्ध, एकीकृत एउटै किसान महासंघको केन्द्रीय सदस्यको सपथ ग्रहण गरिराख्नु भएको छ । हिजो तपाईहरु दुईओटा संगठनमा हुनुहुन्थ्यो । उद्देश्य एउटै थियो, संगठन दुईओटा थिए । आज तपाईहरु एउटै उद्देश्यको एउटै संगठनमा आवद्ध हुनुहुन्छ । र, यो परिवर्तित सन्र्दभमा सपथ ग्रहण कार्यक्रम आयोजना भएको छ ।
साथीहरु,
देशमा ठूलो राजनीतिक परिवर्तन भएको छ । दुई हिसाबले राजनीतिक परिवर्तन भएको छ । एकातिर हामीले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेका छौं । यत्ति भन्दा कति परिवर्तन भएको छ यी शब्दहरु भित्र हामी बुझ्न सक्छौं । निरङ्कुशतन्त्र, निरङ्कुश राजतन्त्र, सामन्ती राजनीतिक प्रणाली त्यसलाई हामीले फालेका छौं । तर, सङघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेका छौं । यो लामो बलिदानपूर्ण संर्घषको परिणाम हो । यसले ठूलो परिवर्तन देशमा ल्याएको छ । तर, यो मात्र परिवर्तन देशमा आएको होइन । नेपालमा एउटा नयाँ ढंगको विश्वमै नयाँ प्रकारको कम्युनिष्ट आन्दोलनले, वामपन्थी आन्दोलनले समयानुकूुल बाटो लिएको छ । र, त्यो बाटोले सफलता प्राप्त गरेको छ ।
व्यवस्था परिवर्तन सँगसँंगै यहाँ, प्रणाली परिवर्तन सँगसँगै यहाँ स्पष्टतः मानव जातिको न्याय र समानतायुक्त, न्याय र समानतायुक्त सुरक्षित, सम्मानपूर्वक त्यस्तो समाज । जुन समाज समृद्ध पनि होस् । अर्थात् समाजवादी प्रणालीतर्फ लोककल्याणकारी राज्यका अवधारणाअनुसार केही मान्छे धनी हुने, केही मान्छे फेरि गरिबै हुने, केही मान्छे घरबिहीन, रोजगारीबिहीन, आम्दानीबिहीन, अवसरबिहीन गरिबै हुने, अभावग्रस्तै जिन्दगी बिताउनु पर्ने र केही मान्छेहरुले अकुत सम्पति कमाउने र त्यस अकुत सम्पति कमाएको बाट देश कति माथि पुग्यो भनेर धनीहरुको सम्पति जोडेर प्रतिव्यक्ति सरदर आम्दानी राष्ट्रिय समग्र उत्पादनसँग जोडिने तर, समाजको एउटा हिस्सा भोकै पर्ने त्यस्तो प्रणाली होइन । सिंगै समाजलाई उठाउने, सिंगै समाज सम्पन्न हुने प्रणाली हामीले लिएका छौं ।
यस प्रणालीमा जानका लागि कम्युनिष्ट पार्टीको नेतृत्व चाहिन्छ । कम्युनिष्ट पार्टीले सही ढंगले नेतृत्व, सही विचारका साथ सशक्त संगठन, गतिशील संगठन मार्फत एकताबद्ध र अनुशासित संगठन मार्फत सही नीतिहरुका साथ देशलाई अगाडि बढाउने काममा अगुवाई र नेतृत्व गर्नुपर्छ । र, शान्तिपूर्ण ढंगले चुनावको माध्यमबाट जनताको मन जितेर सरकारमा जान सकिन्छ र देशको हितको पक्षमा राष्ट्रियतालाई मजबुत गर्न, राष्ट्रिय स्वाभिमानलाई माथि उठाउन, राष्ट्रिय स्वाधीनताको वास्तविक अर्थमा प्रयोग गर्न सकिन्छ । त्यसैगरी विकासका अभियानलाई जनताको हितका पक्षमा, समन्यायिक पक्षमा अगाडि बढाउन सकिन्छ भनेर हामीले त्यस ढंगले आन्दोलनलाई अगाडि बढायौं ।
यहाँहरुलाई थाहा छ, दुनियाँमा कम्युनिष्ट आन्दोलन जतिबेला अप्ठ्यारोमा थियो । त्यसबेला हामीले दुनियाँमा कम्युनिष्ट आन्दोलन समाप्त हुन लागेका बेला ठिक नीतिका साथ कम्युनिष्ट आन्दोलनलाई अगाडि बढायौं, जोगायौं र आज सफलतामा पुर्यायौं ।
कम्युनिष्टहरु झगडा गर्न जान्दछन्, फुट्न जान्दछन् भन्ने अवस्थाबाट देशको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनायौं । अहिले हाम्रो देशमा कायम रहेको निर्वाचन प्रणालीबाट बहुमत प्राप्त गर्न सजिलो छैन्, साह्रै कठिन छ । यो बहुमत आउँने प्रणाली होइन । यो देशमा अस्थिरता आउने खालको प्रणाली हो , यसमा सजिलोसँग बहुमत आउँदैन । तर, जे भएपनि हामीले सुदृढ बहुमतसहितको सरकार कायम गरेका छौं । हामीसँग सुदृढ बहुमत छ ।
आज संघीय संसद्मा ६४ प्रतिशत बहुमतमा हाम्रो पार्टी एक्लै छ । सातमध्ये छ वटामा हामीले प्रदेश सरकार सुदृढ सरकार बनाएका छौं । कमजोर रहेको प्रदेश २ मा पनि हामी प्रमुख शक्तिको रुपमा छौं र हामी विकासका संकल्पहरु लिएर अगाडि बढिरहेका छौं ।
पार्टीको एकीकरण भइसकेपछि पनि त्यसलाई तलसम्म पुर्याउँन ढिला भयो । विभिन्न कारणले एकता र एकीकरणको प्रक्रिया ढिला हुँदा हाम्रा थुप्रै कामहरुमा गतिरोध उत्पन्न भयो । र हामी आलोचित हुने स्थति पनि बन्यो । तर अब हामीले एकता, एकीकरणको प्रक्रियालाई टुङ्ग्याएका छौं र अब पार्टीलाई गतिशील ढंगले अगाडि बढाउनुपर्छ । कतिपय कारणहरुले हामीले सरकारले गर्नुपर्ने, पहिले नै गरिसक्नु पर्ने कामहरु पनि केही पर सारेका छौं । त्यसको लागि समय लाग्ने होइन, तर हामी गर्छाैँ । देशको परिस्थिति र यस परिस्थिलाई उपयुक्त ढंगले अगाडि बढाइन्छ ।
हामी देशको अर्थतन्त्रलाई, देशको सामाजिक व्यवस्थालाई सुशासन र विकासको बाटोमा तीव्रताका साथ अगाडि बढाउन चाहन्छौं । विकासको बाटोमा अगाडि बढाउँन चाहन्छौं भने झण्डै दुईतिहाइ जनसंख्या कृषिमा आधारित छ । कृषिको उत्पादनलाई नबढाइकन र बढाएपनि राष्ट्रिय उत्पादनको अंशको रुपमा कृषिको योगदान कमै हुन्छ । किनभने हामी उद्योग, व्यापार, पर्यटन र सेवाका क्षेत्रहरुलाई अगाडि बढाउँछौं । ती क्षेत्रहरुले ठूलो अंश ओगट्छन । तर अब हामी कृषिलाई यसैगरी पछाडि परिरहन दिन सक्दैनौं । त्यसकारण प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम हामीले अगाडि बढाउन खोजेका छौं । तर, हामीसँग भएको संयन्त्र, हाम्रा विज्ञहरुको अध्ययन, अब हामीले गर्न खोजेको कुरा तपाईंहरुले अध्ययन गर्नुभएको होला । त्यसकारण अब नयाँ प्रविधिका साथ उत्पादनका क्षेत्रमा प्रविधिको प्रयोग गर्दै अगाडि बढ्नु पर्ने । र, कुनै पनि ठाउँ, कुनै पनि समय केही पनि खेर जान नदिनु पर्ने सदुपयोगको सिद्धान्तः जमिनको सदुपयोग । कुनै जमिनको कुनै टुक्रो खाली नरहोस्, अनुत्पादक नरहोस् । हाम्रो कुनै समय, कुनै शक्ति, कुनै सामथ्र्य अनुत्पादक र खेर जाने नहोस् ।
सबैको सदुपयोग गरेर हामी अगाडि जान सकौं । र, कृषिको आधुनिकीकरणका साथ अगाडि जान सकौं । जमिनलाई सकेसम्म अब चाक्लाबन्दी वा सामुहिक खेती जसबाट एकै प्रकारको एक ठाउँमा ठूलो मात्राको उत्पादन हुन सकोस् । नत्र भने हामी निर्यात पनि गर्न सक्दैनौँ, उत्पादन वृद्धि पनि गर्न सक्दैनौँ । ठूलो मात्रामा उत्पादन भएपछि तद्नुसार त्यहाँ प्राविधिक सहायता प्राप्त गर्ने यी सबै काम पनि हामी गर्न सक्छौँ । समयमा मलखाद होस् । उन्नत जातको विउविजन, त्यसमा रोगव्यादीको रोकथाम अथवा त्यसको नस्ल सुधार आदिका कुराहरु स–साना स्तरमा हुँदा खेरी त्यो गर्न सकिदैन । जब ठूलोस्तरमा हामी खेती गर्न थाल्छौँ, तब मात्रै हामी ति कामहरु गर्न सक्छौँ । त्यसकारण हामीले अबको कृषि सहकारीमार्फत भएपनि अथवा आफू आफू मिलेर भएपनि बाली चाहिँ एउटै लगाउने खालको प्रणालीमा जानुपर्छ । एक ठाउँमा एउटा बाली, एउटा गाउँपालिका एउटा बाली अथवा एक कमसेकम हजार, दुई हजार विघा, १० –२० हजार रोपनी, कमसेकम एउटा बाली होस् । त्यसो गर्दा खेरी त्यसलाई बजार पाइएन भन्ने समस्या हुँदैन । दुई डोका कुनै चिज उत्पादन गरेको छ भने कहाँ पुर्याएर बेच्ने ? समस्या हुन्छ । तर, २ ट्रक भयो भने बजार पाउने समस्या हुँदैन । त्यसले बजार पाउन सक्छ । २ सय ट्रक भयो भने त्यसले विदेशमा बजार पाउँछ र त्यसको राम्रो आम्दानी हुन्छ । त्यसकारण हामीले एक ठाउँमा एउटा बाली र चाक्लाबन्दीको हिसाबले जान जरुरी छ ।
हामी अब विभिन्न स्थानहरुमा कृषिसम्बन्धी विज्ञहरु रहेको तालिम केन्द्रहरु वा अहिलेको प्रविधि किसानहरुलाई सिकाउने र त्यस अनुसारको खेती गर्ने गर्नुपर्छ । किसानका खेतहरुमा गएर प्राविधिकहरुले प्राविधिक पढाई पनि कृषिको खेतमा, किसानको खेतमा गएर गर्ने र प्राविधिकहरुका प्रयोग पनि किसानका खेतमा गएर गर्ने सोचेका छौँ । त्यस प्रकारको विधि मार्फत किसानको चेतना पनि आधुनिकीकरण गर्ने कृषिसम्बन्धी र प्रविधि पनि सिकाउनुपर्छ । यी सबै कामहरुको पनि योजना हामी गरिरहेका छौँ । र, त्यस अनुसार हामी, हामीले सुरु गर्दा खेरी नै गत वर्ष कृषिमा ६ प्रतिशत भन्दा बढी समग्रतामा उत्पादन वृद्धि गरेका छौँ । गत वर्ष हामाीले धान उत्पादनमा ९ प्रतिशत वृद्धि गरेका छौँ । यस वर्ष सुरुमा पानी नपरेर अलिकति धान जस्ता उत्पादनहरुमा केही प्रतिकुलता थपिएको छ । तर पनि मलाई के विश्वास छ भने, हामी जुन ढंगले अगाडि बढिरहेका छौँ, यसले यस वर्षको उत्पादनमा पनि राम्रै वृद्धि हुने छ र आगामी वर्षका लागि हामीले अरु योजनाहरु बनाउने र गम्भीर ढंगले काम अगाडि बढाउने कोसिस गरिरहेका छौँ ।
हामीले कृषिमा अनुदान राहत उपलब्ध गराई रहेका छौँ–सरकारको तर्फबाट । फेरि पनि सरकारले कृषि औजार या मलखाद इत्यादीमा अनुदानको नीति कायमै राख्नेछ । तर, सम्पूर्ण अनुदानमा मात्रै वितरण गर्न सम्भव हुँदैन । किनभने त्यसलाई सन्तुलन पनि राख्नु पर्यो अरु क्षेत्रमा पनि ।
हिजो मात्रै पनि हामीले छलफल गर्यौँ । ऊखुमा हामी प्रतिक्वीन्टल ६५ रुपैँया अनुदान पनि दिइराखेका छौँ । धान गहुँ भन्दा बढी उत्पादन हुन्छ र बढी लाभ हुन्छ भनेरै उखुमा लगानी गरिएको हो । धान खेती वा अरु खेतीहरु धान, गहुँ, मकै खेतीमा प्रतिविघा ८ हजार अनुदान जाने गरेको छ । मलखाद समेत ८ हजार अनुदान जाने गरेको छ । ऊखुमा प्रतिबिघा २० हजार भन्दा बढी अनुदान जाने गरेको छ । थप ६५ रुपैया भन्दा बढी, प्रतिक्विइन्टल अनुदान दिने गरिएको छ । तैपनि त्यसमा समस्या छ, घाटा छ । यो विचित्रको भएको छ ! नाफा हुन्छ भनेर कृषिमा धानबाली, गहुँ अरु नगरेर ऊखुमा जाने, ऊखुलाई २० हजार प्रतिबिघा अनुदान दिने, तैपनि नपुगेर ६५ रुपैया प्रतिक्विइन्टल अनुदान दिने, तैपनि भएन सधै घाटा ! समस्यै समस्याग्रस्त हो भने हामीले ऊखुखेती तर्फ अलिकति सावधानी हुनु पर्ने हुन्छ ।
हामीले यसको लेखाजोखा हामी गर्दैछौँ । कति जमिनमा हामीलाई चिनी कति चाहिने हो ? त्यसका लागि कति बिघा जमिनमा ऊखु उत्पादन गर्ने, लगाउने हो ? र कति ऊखु लगाउँदा त्यसको प्रतिफल कति हुन्छ ? कृषिसँग, अरु क्षेत्रसँग तुलना गरेर त्यसमा सुविधा–सौलिहियत दिने कुरा हुन सक्छ । अब अहिले त एक ढंगले भन्ने हो भने ऊखुँ बढी उत्पादक, बढी उत्पादन दिने क्षेत्र मानिन्छ । तर, त्यहाँ सरकारको लगानी अन्यत्र भन्दा धेरै बढी छ । जे होस् हामी यस्ता नगदे बालीहरु तर्फ ध्यान नदिने होइन, ध्यान दिन्छाँै । र कृषिमा सबभन्दा मुख्य कुरा जीवनसँग सम्बन्धित, जीवन निर्वाहसँग सम्बन्धित कृषिलाई आत्मनिर्भरताको बाटोमा लाने त्यो काम हामी गर्छौँ ।
अर्को–कृषिलाई केबल उत्पान बढाउने जस्तो भए पनि होइन । खाली खान पुग्ने र खान पुर्याउने मात्रै होइन । स्वस्थ्य रहनका लागि स्वस्थ्यकर खाने कुरा ( विषादीयुक्त होइन, मिसावटयुक्त, पेस्टीसाईटको अत्यन्त अत्याधिक प्रयोग गरिएको विषादीयुक्त खानेकुरा होइन) । हामीले स्वच्छ खानेकुरा, स्वस्थ्य खानुपर्छ, जसले स्वास्थ्यका लागि राम्रो सकारात्मक भूमिका खेल्न सकोस् । खाना खायो, त्यो अनेक प्रकारका विषादीयुक्त छ र स्वास्थ्यका लागि हितकर छैन भने त्यसले अनेक रोगव्यादी जन्माउँछ । सस्तो किनेर खायो भने पनि त्यसले पछि औषधि उपचार र अरु कुराहरुमा खर्च हुँदा त्यो भन्दा बढी महंगो पर्छ । त्यसकारण हामी स्वस्थ्यकर खानातर्फ अबको ध्यान जानुपर्छ । हाम्रा बालबालिकाहरुलाई कुनै पनि हालतमा अस्वस्थ्यकर खाना बच्चैदेखि उनीहरुले अस्वस्थ्यकर खाना खान नपरोस् । जसबाट उनीहरुको शारीरिक, मानसिक वृद्धि र विकासमा व्यवधान नपुगोस् भन्ने कुरामा पनि हामीले ध्यान दिन्छौँ ।
यो सबै कुरा हामीले किसानहरुलाई सचेत गराउनु, किसानहरुलाई सजग गराउनु आवश्यक छ । सँगसँगै कृषि बजारका निम्ति हामीले जिल्ला जिल्लामा, सदरमुकाममा अथवा प्रमुख बजारमा कृषि बजार केन्द्र यस्ता विभिन्न स्थापना गरिरहेका छौँ । बजारहरु र थोक बजारहरु स्थापना गरिरहेका छौँ । यो क्रमलाई हामी अझ अगाडि बढाउछौँ । जसबाट किसानले आफूले उत्पादन गरेको चिज विक्री वितरण गर्न पाइएन अथवा खेर जाओस् भन्ने स्थिति नहोस् । त्यसकारण स्वस्थ्य उत्पादन वृद्धि, उत्पादन र उत्पादकत्व वृद्धि, बजारको व्यवस्था, प्राविधिक सहायता र बिउ–बिजन, मलखाद आदिको समयमा र समुचित ढंगले उपलब्धता जस्ता कुराहरुमा सरकारको ध्यान गएको छ र यहाँहरुलाई थाहा छ, म आफै हलो जोतेर, कोदालो खनेर खेती गरेर आएको मान्छे भएको हुनाले कृषिसम्बन्धी मलाई थाहा पनि छ । मैले आफैले मकै धान देखि लिएर सागसब्जी देखि लिएर सबै लगाएको पनि छु । त्यस कारण कृषिको समस्या के हो ? किसानहरुका समस्या के हुन् ? यसका निम्ति सिँचाईका प्रवन्धहरु कसरी अत्यधिक कृषियोग्य जमिनमा जहाँ सिंचाइ सम्भव छ ? नयाँनयाँ प्रविधिहरुको समेत प्रयोग गरेर र जहाँ सिंचाइ सम्भव छैन त्यहाँ थोरै पानीले बढी फल्ने खालका त्यस्तो प्रकारका जातहरुको विकास वा अन्यत्रबाट पनि त्यस्तो जातका बिउ बिजनहरु ल्याएर त्यो लगाउँने खालका कुराहरु र हामीले अरु कसरी सदुपयोग गर्ने जमिन ? भन्ने विभिन्न ठाउँबाट एक आपसमा पनि सिक्न जरुरी छ ।
कतिवटा जिल्लाहरुले सानो ठाउँबाट धेरै लाभ लिइरहेका छन् । इलामले सबभन्दा बढी संघन ढंगले जमिनको प्रयोग गरेको देखिन्छ । इलामले अलिकति कान्नो पायो भने त्यहाँ इस्कुस लगाएर त्यसबाटै प्रशस्तै फाइदा लिएको छ, लाभ लिएको हुन्छ । अलिकति भीर देख्यो भने त्यसमा अम्रिसो लगाएर त्यसबाट लाभ लिएको हुन्छ । अलिकति सम्म पायो भने आलु लगाएको हुन्छ । खेत पायो भने धान लगाएको हुन्छ । भैँसी, गाई केही पाल्न पायो भने त्यो पनि गरिराखेको हुन्छ । जे लगाउन सकिन्छ त्यहाँ, त्यो चिजहरु उसले गरेको हुन्छ र जमिन खेर जान नदिने, हरेक जमिनको सदुपयोग गर्ने गरेको हुन्छ । सायद, नेपालमा सबभन्दा गरिबी कम भएको जिल्ला इलाम नै होला । इलाममा खान लाउनै नपाउने भन्ने त्यस्तो गरिब र त्यस्तो गरिबी छैन किन भने त्यहाँ जनतामा जागरण छ र जमिनको सदुपयोग गरिएको छ । मान्छेले त्यसो भएपछि रोगजारी पनि प्राप्त गर्छ । कुनै न कुनै हिसाबले रोजगारी प्राप्त गर्छ, आम्दानी बढाउँछ र हामीले त्यसैगरी समय, जमिन, साधन, स्रोतहरुको सदुपयोग गर्नुपर्दछ । जसले रोजगारीका अवसरहरु सिर्जना गर्छ । जसले आम्दानीका बाटाहरु बनाउँछ जसबाट हामी बालबालिकाहरुको शिक्षादेखि लिएर ज्येष्ठ नागरिकहरुको हेरविचारसम्म गर्न सक्ने अवस्थामा हुन्छौँ । त्यसकारण कृषिको आधुनिकीकरण अत्यन्त महत्वपूर्ण विषय हो र यसको नेतृत्व गर्ने तपाई साथीहरुले नै हो ।
तपाईहरुले किसान संगठनमा संगठित भइयो भनेर बस्ने होइन । तपाईँहरु नमुना किसान हुनुपर्छ । तपाईको बारीमा धेरै घोगा मकै फल्नुपर्छ । अलिक ठूलो घोगा मकै फल्न पर्छ । अलिक झपक्क खुर्सानी फल्न पर्छ । झपक्क टमाटर फल्नु पर्छ । ठूलै टमाटर फल्नु पर्छ । तपाईका धानका बालाहरुभन्दा झपक्क लामा र धेरै दाना फलेका हुनु पर्छ । कसरी लगाउने भन्ने ? त्यो तपाईले सिक्नु पर्छ । सब्जिको तपाईकोमा कुनै अभाव हुनु हुँदैन । त्यो सिजन अनुसार के लगाउन सकिन्छ ? त्यो नमुना किसान, किसान नेताहरुले नमुना किसान हुनुपर्छ । संगठनको नमुना होइन, उत्पादनको नुमना बन्नुपर्छ तपाईँहरु । संगठनको नमुना पनि तपाईहरु हुनुपर्छ । तर संगठनको नमुना मात्रै होइन, किसान नेता भनेको उत्पादनको नमुना हुनु पर्दछ । त्यस कारण म यहाँहरुलाई आग्रह गर्न चाहन्छु, उत्पादनको नमुना बन्ने प्रयास गर्नुस् । मेरो शुभकामना पनि छ, उत्पादनको लागि नमुना बन्ने काम गर्नुस् ।
हामी एउटा नयाँ चरणमा कम्युनिस्ट पार्टीले नेतृत्व गरेर देश बनाउने अभियानमा जुटिरहेको, कम्युनिस्ट पार्टीको अगुवाइमै ठूलो परिवर्तनभन्दा पछिको समयमा हामी छौँ । यस समयमा हाम्रो काधमा गहन जिम्मेवारी छ । चुनौतीहरु पनि छन् । तर, ती चुनौतीहरुको हामी सामाना गर्न सक्छौँ र हाम्रा लागि जनताले जुन विश्वास गरेर दिएको छ त्यस अनुसार सालिनताका साथ त्यस विश्वासलाई हामीले लिएका छौँ र हामी आफ्नो जिम्मेवारी त्यसै गरी अगाडि बढाउछौँ ।
म स्थानीय तहहरुसँग मिलेर, स्थानीय तहका जनप्रतिनिधिसँग मिलेर, जनप्रतिनिधि र स्थानीय तहका पार्टी कार्यकर्तासँग मिलेर, सबैसँग मिलेर विकासको अभियानलाई अगाडि बढाउन सबै साथीहरुलाई आग्रह गर्छु र यस काममा सफलता मिलोस् भनेर हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु । फेरि एक पल्ट तपाईहरु सबैलाई बधाई र धन्यवाद भन्न चाहन्छु ।
प्रकाशित मिति: बुधबार, असोज ८, २०७६