धनुषा । धनुषाको एक होटेलको फ्रिजमा करेन्ट लागेर तीन जनाको मृत्यु भएकाे छ ।
धनुषाको गणेशमान चारनाथ नगरपालिका–७ पोर्ताहामा रहेको पूर्वेली स्टाफलाइन होटेलको फ्रिजमा करेन्ट लागेर मंगलबार राति तीन जनाको ज्यान गएको हो ।
ज्यान गुमाउनेमा होटेल सञ्चालक ५५ वर्षीय शिवकुमार महतो, उनकी श्रीमती र होटेलमा काम गर्ने एकजना महिला कामदार रहेको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ । २ जनाको नाम भने खुल्न सकेको छैन ।
बिहानै होटल सञ्चालक महतोकी आमा होटल गई ढोका खोल्दा तीनै जनालाई मृत अवस्थामा देखेपछि स्थानीयलाई गुहारेकी थिइन् । घटनापश्चात् स्थानीय प्रत्यक्षदर्शीका अनुसार तीनै जना होटलमा राखिएको फ्रिज नजिकै मृत अवस्थामा भेटिएपछि तत्कालै प्रहरीलाई खबर गरिएको थियो ।
अहिले इलाका प्रहरी कार्यालय ढल्केबर र जिल्ला प्रहरी कार्यालय धनुषाको टोली घटनास्थल पुगेको र घटनाका विषयमा थप अनुसन्धान गरिरहेको धनुषाका प्रहरी नायब उपरीक्षक (डीएसपी) रामेश्वर कार्कीले जानकारी दिए ।
प्रकाशित मिति: बुधबार, असोज ८, २०७६