काठमाडौं: विमानस्थलभरि नेपाली ध्वजावाहक जहाज देखेपछि एकपटक प्रधानमन्त्रीले सहयात्री साथीलाई सोधेछन्, ‘नेपाल वायुसेवा निगमसँग निकै धेरै जहाज पो रहेछन्।’
ती साथीले भनेछन्, ‘ठीक भन्नुभयो प्रधानमन्त्रीज्यू, जहाज थुप्रै छन्। उड्दैनन् र यहाँ धेरै देखिएका छन्। मैदानभरि छन्। वाइडबडी पनि छन्। तर, जमिनमा छन्। आकाशमा छैनन्।’
प्रधानमन्त्री केपी शर्मा ओलीले निगम दिवसमा यो प्रसंग सुनाउँदा त्यही संस्थाका कर्मचारीले परर्र ताली बजाए। जुलाई १ मा त्यसो भनेको तीन महिना बित्न लाग्यो, थन्किएका जहाज उडेनन्। बरु उडिरहेका थप थन्किए। सुन्दै अचम्म १ निगमसँग १४ जहाज छन्, उड्छन् ६ वटा। बाँकी सबै प्रधानमन्त्रीले भनेजस्तै ‘जमिनमा छन्।’
बेलामा मर्मत नगरी ठूलो समस्या निम्त्याएर थन्क्याउनु निगमको पुरानो रोग हो। अन्तर्राष्ट्रिय उडानको वाइडबडी एक सातादेखि ग्राउन्डेड छ। बन्न केही दिन लाग्न सक्छ। बोइङ ७५७ एक वर्षदेखि ‘कुवाएर’ राखिएको छ। बिक्री गर्न चाहे पनि बिकेको छैन। दुईमध्ये अर्को बोइङ भने बीबी एयरवेजलाई बिक्री गरिसकेको छ।
आन्तरिकतर्फ नौ जहाज छन्, तीनवटा मात्रै उडानमा छन्। निगमले सबैभन्दा साख बिगारेको क्षेत्र आन्तरिक हो। तिनमा ट्विनअटर तीन, चिनियाँ वाई १२ ई चार र एमए ६० दुइटा छन्। तीमध्ये ट्विनअटर, वाई १२ र एमए ६० का एक÷एकवटाले मात्रै नियमित उडान गरिरहेको जानकारी प्रवक्ता गणेशबहादुर चन्दले दिए।
निगमले चीनबाट अनुदानमा ल्याएको एक र खरिद गरेको अर्को एक एमए ६० जहाजमध्ये एउटा मात्रै उड्ने गरेको छ।
साधनस्रोत प्रशस्त भए पनि सधैं घाटामा जान्छ, निगम। जुनसुकै व्यवस्थापन आए पनि कहिल्यै सुध्रिँदैन यो। निगम दिवसमा प्रधानमन्त्री ओलीले सोधेका थिए, ‘नेपाल वायुसेवा निगममा वायुसेवा निगमबाहेक घाटामा को छ अरू ? यसमा सम्बद्ध थुप्रै छौं नि हामी, चढ्ने हौंला, चढाउने हौंला, उडाउने हौंला, कुदाउने हौंला, व्यवस्थापन गर्ने हौंला। घाटामा कोही छैन। बोक्ने वायुसेवा निगम एक्लै घाटामा छ। किन भो अर्बौं घाटा ? के बिगा¥यो त्यसले ? के नोक्सान ग¥यो त्यो जहाजले ? जहाजले गरेको होइन, हामीले गरिरहेका छौं।’
उनको संकेत निगम व्यवस्थापनप्रति थियो। अघिल्ला प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारले झन्डै २५ अर्ब ऋणमा दुइटा वाइडबडी ल्याए। त्यसको खरिदमा नक्कली कम्पनी बनाइए। ल्याइएका विमान पनि चल्न सकेनन्। त्यसलाई तीव्रता दिन मदन खरेललाई सरकारले अध्यक्ष बनायो। उनले झन् खस्काउँदै लगेको प्रधानमन्त्रीको आक्रोशले बताउँथ्यो।
प्रधानमन्त्रीको प्रश्न थियो, ‘जहाज किनेर के लडाउन ल्याएको ? ठाउँ ओगट्न ? ओभरहोल गर्नुपर्ने भए गरिहाल्नुहोस्। पाटपुर्जा फेर्नु छ, फेरिहाल्नुहोस्। मर्मतसम्भारमा कुनै सम्झौता गर्नुहुँदैन, समयमै गरिहाल्नुहोस्। चुस्तदुरुस्त राख्नुहोस्। गन्तव्य नयाँ खोज्नुहोस्, तत्काल।’ आजको अन्नपूर्ण पोष्टमा समाचार छ ।
प्रकाशित मिति: बुधबार, असोज ८, २०७६