काठमाडौं: गत साउन २० गते मोलुङ गाउँपालिकाकी एक युवती बलात्कृत भइन् । १८ वर्षीया ती युवती घाँस काट्न दिउँसो बारीमा गएको बेला बतात्कृत भएकी हुन् ।
पीडित पक्षको किटानी जाहेरीका अधारमा सोही ठाउँकै प्रहरी चौकीमा कार्यरत सप्तरीका करिब ३५ वर्षीय प्रहरी जवान प्रकाशकुमार यादव जबरजस्ती करणी मुद्दामा पक्राउ परे ।
घाँस काट्न गएकी किशोरीलाई यादवले जंगलमै जबरजस्ती करणी गरेको पीडितको आरोप छ । यादवले करणी गरिरहेका बेला युवतीका बुवाले देखेपछि घटना बाहिर आएको थियो ।
यादवले त्यसअघि जंगलमै घाँस काट्न गएका बेला साउन २ गते पनि ती युवतीलाई बलात्कार गरेको खुलेको छ । ओखलढुंगा जिल्ला अदालतमा सरकारी वकिल कार्यालयमार्फत जबरजस्ती करणीमा यादवविरुद्ध भदौ १० गते मुद्दा दायर भएको थियो ।
घटनाको अनुसन्धान भइरहेको समयमा यादवका आफन्तले पीडित पक्षलाई केही रकम लिएर मिल्न र अदालतसमक्ष बयान फेर्न बारम्बार दबाब दिइरहे । मोटो रकमको लोभ देखाइरहे । अन्त्यमा पाँच लाख ५० हजार रुपैयाँमा कुरा मिल्यो अनि पीडित र पीडितका आफन्त बयान फेर्न राजी भए । आजको नागरिक दैनिकमा समाचार छ ।
प्रकाशित मिति: बुधबार, असोज ८, २०७६