काठमाडौं: नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य घटाए पनि व्यापारीले भने पुरानै मूल्यमा बिक्री गरेको पाइएको छ ।
उपभोक्ताको गुनासो आएपछि निगमले बजार अनुगमन गरेको थियो । अनुगमनका क्रममा पुरानै मूल्यमा बिक्री भएको पाइएको नेपाल आयल निगमले जनाएको छ ।
खुद्रा पसलले ग्यासको मूल्य नघटाए निगमले कारबाही गर्ने चेतावनीसहितको विज्ञप्ति सार्वजनिक गरेको छ । निगमले असोज ३ गते निर्धारण गरेको मूल्यअनुसार बिक्री नगरिए कानुनबमोजिम कडा कारबाही गरिने निगमका प्रवक्ता वीरेन्द्र गोइतको बताए ।
चाडवर्पका बेला उपभोक्तालाई राहत हुने आशयले मूल्य घटाइएको तर व्यापारीबाट त्यसको कार्यान्वयन नभएको सुन्नमा आएकाले निगमले अनुगमन गरिरहेको उनको भनाइ छ ।
निगमले असोज ३ गते राति १२ बजेबाट लागू हुने गरी प्रतिसिलिन्डर २५ रुपियाँ घटाएको थियो । प्रतिसिलिन्डर १३ सय ७५ रुपियाँमा बिक्री हुँदै आएको ग्यासलाई २५ रुपियाँ घटाएपछि अब १३ सय ५० मा झारिएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा कायम रहेको पेट्रोलियम पदार्थको मूल्यअनुरूप भदौ १५ गते इन्डियन आयल कर्पोरेसनबाट निगमलाई प्राप्त हवाई इन्धन र एलपी ग्यासको नयाँ खरिद मूल्य घटेर आएकाले मूल्य समायोजन गरिएको थियो ।
नेपाल भ्रमण वर्ष सन् २०२० लाई लक्षित गरी निगमले अन्तर्राष्ट्रिय हवाई उठानतर्फको इन्धनको मूल्य पनि घटाएको थियो । आजकाे गोरखापत्रमा समाचार छ ।
प्रकाशित मिति: बुधबार, असोज ८, २०७६