अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्ध महाअभियोग प्रक्रिया सुरु भएको छ ।
प्रतिनिधिसभाका सभामुख नेन्सी पलोसीले पनि ट्रम्पविरुद्ध महाअभियोगको प्रक्रिया सुरु गर्ने घोषणा गरेकी छन् । डेमोक्रेटिक पार्टीका प्रतिद्वन्द्वी नेता जो बाइडन र उनका छोराविरुद्ध भ्रष्टाचारविरुद्ध अनुसन्धान गर्न युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेंस्कीलाई दबाव दिएको आरोप अमेरिकी राष्ट्रपति ट्रम्पलाई लागेको छ ।
ट्रम्पले युक्रेनका राष्ट्रपतिसँग आफ्नो राजनीतिक प्रतिद्वन्द्वीको बारेमा छलफल गरेको स्वीकार पनि गरेका छन् । तर भ्रष्टाचार मुद्दामा अनुसन्धान गर्न दबाव भने नदिएको उनले बताएका छन् ।
हालसम्म अमेरिकाको कुनै पनि राष्ट्रपतिलाई महाअभियोग लगाएर पदबाट हटाएको इतिहास छैन । ट्रम्पलाई पदबाट हटाउन सत्तारुढ रिपब्लिकन पार्टीका २० सांसदको समर्थन चाहिन्छ । तर आफ्नै पार्टीबाट राष्ट्रपति चुनिएका ट्रम्पविरुद्ध रिपब्लिकन सांसदले विद्रोह गर्छन् कि गर्दैनन् हेर्न बाँकी छ ।
महाभियोगको पक्षमा विपक्षी डेमोक्र्याटहरूको बलियो समर्थन छ। यदि अनुसन्धान संसद्मा अघि बढेमा मतदान हुनेछ र तल्लो सदनबाट सहजै पारित हुने देखिन्छ।
त्यसपछि त्यो माथिल्लो सदन सिनेटमा पुग्नेछ। दुई तिहाई बहुमतको खाँचो पर्ने उक्त सदनमा रिपब्लिकनहरूको पकड रहेकाले त्यहाँबाट पारित हुने सम्भावना भने कमजोर देखिन्छ।
प्रकाशित मिति: बुधबार, असोज ८, २०७६