पाेखरा । पोखरा महानगरपालिकाका विभिन्न ३० वटा विद्यालयका ६० जना अगुवा शिक्षकहरुलाई जीवन उपयोगी सीप तालिम प्रदान गरिएको छ । मंगलबार एक समारोह गरेर गएकाे असोज २ गते सुरु भएको तालिमको समापन गरिएकाे छ ।
तालिमको समापन समारोहमा बोल्दै आयोजक संस्था बाल हितकारी परियोजना नेपालका अध्यक्ष गोविन्द पहारीले यस्ता तालिमहरुले शिक्षकहरुलाई उत्प्रेरित गर्ने बताए । गैरसरकारी संस्थाहरुले सरकारले खनेको जगमा नै इटा थप्ने काम गर्ने उल्लेख गर्दै अध्यक्ष पहारीले तालिमलाई सफल बनाउन व्यवहारमा समेत परिवर्तन गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा बोल्दै किडासाका परियोजना व्यवस्थापक सञ्जय आत्रेयले परियोजनाबाट महानगरका ५ हजार ४ सय विद्यार्थीहरु लाभान्वित हुने जानकारी दिए । तालिमका सिकाइ १३ देखि १६ वर्षका किशोर किशोरीहरुलाई विशेष उपयोगी हुनेमा विश्वास व्यक्त गरे ।
कार्यक्रममा सहभागीहरुका तर्फबाट महेन्द्र माध्यामिक विद्यालयका बन्दना केसी र नवप्रभात माध्यामिक विद्यालयका शान्तराम लामिछानेले मन्तव्य राखे । उनीहरुले तालिम उपयोगी भएको धारणा राख्दै सिकेको सिकाइलाई कार्यस्थलमा कार्यान्वयन गर्ने समेत प्रतिबद्धता जनाए ।
तालिममा विभिन्न जीवन उपयोगी सीपहरुको बारेमा प्रशिक्षक भक्तराज रसाइलीले शिक्षकहरुलाई सहजीकरण गरेका थिए ।
समापन कार्यक्रम परियोजनाका अध्यक्ष गोविन्द पहारीको अध्यक्षता तथा केशव पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।
बाल हितकारी परियोजना नेपालको आयोजना तथा किडासाको आर्थिक तथा प्राविधिक सहयोगमा तालिम सम्पन्न भएको परियोजनाका फिल्ड निर्देशक रविन्द्र आचार्यले जानकारी दिए ।
प्रकाशित मिति: मंगलबार, असोज ७, २०७६