काठमाडाैं । सरकारले यात्रुको टिकटसम्बन्धी कुनै पनि समस्या पर्दा समाधानका लागि विभिन्न स्थानमा ‘नागरिक सहायता कक्ष’ सुरु गरेको छ ।
काठमाडौँ उपत्यकामा टिकट काउन्टर रहेका स्थानमा कक्ष सुरु भएको यातायात व्यवस्था विभागले जनाएको छ । आइतबार अग्रिम टिकट सुरु भएपछि सोही दिनबाट नयाँ बसपार्कमा सहायता कक्ष सुरु गरिएको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए ।
मंगलबार कलङ्की र बल्खुमा कक्ष सुरु भएको छ । बुधबार थप १४ स्थानमा कक्ष सुरु गर्ने योजना रहेको विभागले जनाएको छ ।
यात्रुका गुनासो सुन्ने र सोही स्थानबाट सहयोग गर्ने उद्देश्यले कक्ष सुरु भए पनि अहिलेसम्म खासै समस्या नआएको उनले बताए । उनले भने, धेरै ठाउँमा कक्ष खोलिएपछि गुनासो आउन सक्छ ।
यात्रुले टिकट काउन्टर पुगेको दुई घण्टाभित्रमा टिकट काटिसक्ने गरी व्यवस्था मिलाइएको महानिर्देशक हमालले बताए । नयाँ बसपार्कमा पहिलो दिन धेरै भीडभाड भए पनि अहिले भीड कम भइसकेको छ । विभागले दसैँ लक्षित गरेर अनुगमनलाई तीव्र बनाएको छ ।
प्रकाशित मिति: मंगलबार, असोज ७, २०७६