राजविराज । सप्तरीको राजविराज–६ का इन्जिनियर हरिनारायण देवको हत्या आरोपमा सप्तरी महादेवा गाउँपालिका–१ का ४२ वर्षीय हरेराम यादवलाई कैद सजायको फैसला भएको छ ।
जिल्ला अदालत सप्तरीका न्यायाधीश उमेश कोइरालाको इजलाशले यादवलाई ५ वर्ष कैद सजायको फैसला सुनाएको हो । यसैगरी अन्य आरोपित छिन्नमस्ता गाउँपालिका–४ लालापट्टीका ३१ वर्षीय अजित सिंह भनिने अजय यादव, अग्निसाइर कृष्णसवरण गाउँपालिका–४ का ३४ वर्षीय अविनाश भनिने उपेन्द्र यादव र ५५ वर्षीय श्रीप्रसाद मण्डललाई जनही एक वर्ष कैद सजायको फैसला भएको छ ।
जिल्ला अदालतले २०७१ फागुन ११ गते अजय, उपेन्द र श्रीप्रसाद्रको अंश रोक्का गरी मुद्दा मुल्तबीमा राखेको थियो । आरोपित मण्डल २०७५ मंसिर ५ गते पक्राउ परेपछि ५० हजार धरौटीमा रिहा भएका थिए ।
सप्तरीको बोरियास्थित घरमा खाना खाएर सुत्नका लागि राजविराज–६ स्थित घरतर्फ आइरहेका इन्जिनियर देवलाई घर नजिकै आरोपितले २०६७ पुस १३ गते साँझ गोली हानेर हत्या गरेका थिए । राष्ट्रियसभा सदस्य जीतेन्द्रनारायण देव मृतक देवका भाइ हुन् ।
यसअघि पक्राउ परेका विष्णुपुर गाउँपालिका–५ का २७ वर्षीय गंगाराम यादवलाई सर्वस्वसहित जन्मकैद तथा शम्भुनाथ नगरपालिका मोहनपुरका २८ वर्षीय दिलजले भनिने उमेश राम र २९ वर्षीय देवराम भनिने अनिलकुमार यादवलाई जनही पाँच वर्ष कैद सजायको फैसला भएको थियो ।
प्रकाशित मिति: मंगलबार, असोज ७, २०७६