चितवन। साउन महिनादेखि क्रमशः बढेको डेंगुको संक्रमणका कारण यहाँको पर्यटकीय क्षेत्रमा समेत असर परेको छ । संक्रमणका कारण भरतपुर र आसपासका पर्यटकीय होटलमा पनि पर्यटकको चहलपहल कम भएको छ ।
भदौ १५ गतेपछि सौराहामा पर्यटकको आगमन बढ्ने गरेकामा यस वर्ष भने न्यून संख्यामा आएका छन् । चितवनस्थित क्षेत्रीय होटल सङ्घका अध्यक्ष दीपक भट्टराईका अनुसार विगत वर्षहरुमा यतिबेला दैनिक १ हजार हाराहारी पर्यटक सौराहा आउने गर्थे । तर यस वर्ष यो संख्या २ सयको हाराहारी मात्र छ । यस वर्ष बसमा आउने पर्यटक दैनिक २०-३० को हाराहारी छन् भने समूहमा आउने २ सयभन्दा कम छन् ।
गत वर्षमा समूहमा आउने पर्यटक र बसमा आउने पर्यटक पाँच/पाँच सय हाराहारी हुने गरेको उनको भनाइ थियो । सौराहाबाट दैनिक ६ वटा बस काठमाडौँ र २ वटा बस पोखरा चल्ने गर्दछन् । ती बसमा न्यून पर्यटक मात्र आउने गरेका छन् । अहिले जिल्लाका विभिन्न स्थानबाट सर्वसाधारण चढ्ने गरेका कारण ती बसले खर्च धानेको जनाइएको छ ।
सौराहा क्षेत्रमा डेंगु नदेखिए पनि जिल्लाको सहरी क्षेत्रमा डेंगु देखिएकाले त्यसैको हल्लाका कारण पर्यटक घटेको अध्यक्ष भट्टराईले बताए । रत्ननगर नगरपालिकामा हालसम्म १ सय ३५ जनामा डेंगुको संक्रमण देखिएको छ । ती सबै बजार क्षेत्रका हुन् । पछिल्लो समयमा सौराहा क्षेत्रमा डेंगुको संक्रमण नदेखिएको जिल्ला स्वास्थ्य कार्यालयका कीट नियन्त्रक राम केसीले जानकारी दिए । जिल्लामा पनि असोज लागेसँगै यस्ता रोगीको संख्या घटेर गएको र अहिले डेंगु नियन्त्रणको क्रममा रहेको उनको भनाइ थियो ।
सौराहाका १ सय २० होटलको ७ हजार हाराहारी पर्यटक अटाउने क्षमता छ । तर यहाँ डेंगुको संक्रमण छैन भन्ने सन्देश समयमा नै पुर्याउन सकेमा पर्यटकको संख्यामा वृद्धि हुने व्यवसायीहरूको भनाइ छ । यति बेला यूरोपेली र चिनियाँ पर्यटक मात्र सौराहा आएका छन् । क्रमशः आन्तरिक पर्यटकको संख्या पनि बढ्दै जाने बताइएको छ ।
भरतपुर र आसपासका होटलमा पनि असर
भरतपुर र गैँडाकोट क्षेत्रमा रहेका पर्यटकीय होटलमा पनि डेंगुका कारण असर परेको छ । रेस्टुराँको व्यापारमा कमी आएको छ भने ठूला कार्यक्रमसमेत स्थगित भएका छन् । गैँडाकोटसिथत द नारायणी रिसोर्टका महाप्रबन्धक वसन्त पराजुलीका अनुसार चार दिनका लागि आवासीय कार्यक्रम अग्रिम तय भएकोमा डेंगुकै कारण स्थगित भएको छ ।
भदौ २६ देखि २९ गतेसम्मका लागि कार्यक्रम तय भएकामा डेंगुको त्रासका कारण कार्यक्रम स्थगित भएको उनले बताए । अन्यले पनि आफ्ना कार्यक्रम पछाडि सारेका छन् । पराजुलीका अनुसार डेंगुको संक्रमण घट्दै गएकाले पूर्ववत् अवस्थामा व्यवसाय फर्कने अनुमान गरिएको छ ।
होटल रोयल सेञ्चुरीका ‘अप्रेसन म्यानेजर’ राजेन्द्र थापाका अनुसार रेष्टुराँको व्यापारमा ४० प्रतिशतसम्म गिरावट आएकामा केही दिनयता क्रमशः व्यापार बढ्न थालेको छ । कोठमा बस्ने र रेस्टुराँमा खान आउनेको संख्या नै घटेको थियो तर असोज लागेसँगै डेंगुको संक्रमणमा कमी आएको छ । दसैँको समयमा डेंगुको संक्रमण नियन्त्रणमा आउन सकेमा पूर्ववत् अवस्थामा व्यापार फर्कने व्यवसायीको अनुमान छ । स्थानीय पर्यटन विकास समितिका जिल्ला महासचिव विश्व सुवेदीले डेंगुका कारण यहाँ आउने धेरै पर्यटकले भ्रमण स्थगन गरेको बताए । रासस
प्रकाशित मिति: मंगलबार, असोज ७, २०७६