प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–चीन सम्बन्ध स्वार्थ र लेनदेनभन्दा धेरै माथि रहेको उल्लेख गर्दै नेपालले चीनसँग विकास साझेदारी गर्न चाहेको बताएका छन् ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले नेपाल–चीन सम्बन्ध समस्यारहित रहेको बताए ।
नेपाल र चीनले एकअर्का देशको सर्वभौमसत्ता र स्वतन्त्रतालाई सम्मान गर्दै अगाडि बढेको बताउँदै उनले भने, ‘हाम्रो मित्रता खुला छ, स्वतन्त्र र अटल छ । हामी एकअर्काको सार्वभौमसत्ता, स्वतन्त्रता र भौगोलिक अखण्डतालाई सम्मान गर्छौं ।’
नेकपा स्कुल विभाग र चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागद्वारा आयोजित ‘सी जिनपिङ नयाँ युगको चिनियाँ विशेषतायुक्त समाजवादी विचारधाराको परिचयात्मक कार्यक्रम तथा चिनियाँ कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टीबीचको सैद्धान्तिक विचार गोष्ठी’लाई सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
उनले नेपाल–चीन सम्बन्ध हिमाल झै उच्च र अटल रहेको बताउँदै दुई देशबीच केही समस्या भए त्यसलाई मित्रवत् तरिकाले सुल्झाइने गरेको उल्लेख गरे । उनले भने, ‘बलियो भएर पनि चीनको नीति थिचोमिचो गर्ने छैन । एकअर्कामा सहयोगको भावना रहेकोे छ ।’
प्रधानमन्त्री ओलीले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको स्पष्ट पार्दै चीनविरुद्ध नेपाली भूमि तथा आकाश कतै प्रयोग गर्न नदिने दृढता व्यक्त गरे । उनले चीनले क्रान्ति मात्र होइन, आर्थिक समृद्धिको समेत नेतृत्व गरेको बताए ।
प्रकाशित मिति: मंगलबार, असोज ७, २०७६