काठमाडाैं । पत्रकार आचारसंहिता–२०७३ संशोधन तथा परिमार्जन गरिएको छ ।
काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ र नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले आज आयोजित कार्यक्रममा संयुक्त रुपमा संशोधित तथा परिमार्जित पत्रकार प्रेस काउन्सिल नेपालको स्वर्ण जयन्तीका अवसरमा आचारसंहिता, २०७३ (परिमार्जित–२०७६) सार्वजनिक गरे ।
आचारसंहितालाई समसामयिक बनाई समग्र मिडिया क्षेत्रलाई मर्यादित, जवाफदेही र जिम्मेवार बनाउने उद्देश्यअनुरुप सरोकारवाला संघ–संगठनका प्रतिनिधि पत्रकारहरुसँग धेरै चरणको छलफल, अन्तरक्रिया र प्राप्त रायसुझावमाथि गहन छलफलपश्चात् आचारसंहिता जारी गरिएको काउन्सिलका सूचना अधिकारी दीपक खनालले जानकारी दिए ।
सो अवसरमा कार्यवाहक अध्यक्ष श्रेष्ठले प्रविधिमा आएकोे विकासका कारण आचारसंहिता परिमार्जन गर्नुपरेको जानकारी दिए ।
नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले सबै मिडियालाई समेटिएको यो आचारसंहितामा महासंघको पनि स्वामित्व रहेको उल्लेख गरे ।
स्वर्णजयन्तीका अवसरमा प्रेस काउन्सिलको निमन्त्रणामा साइप्रस, म्यान्मा, श्रीलंका, अफगानिस्तान, भारत र म्यान्मा प्रेस काउन्सिलका पदाधिकारीसमेत आइपुगेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आथित्यमा राष्ट्रपति निवास शीतल निवासमा विविध कार्यक्रम गरी स्वर्णजयन्ती मनाउन थालिएको छ ।
प्रकाशित मिति: सोमबार, असोज ६, २०७६