इलाम । इलाममा आइतबार आफ्नै दाजुलाई खुकुरी प्रहार गरेर एक व्यक्तिले आत्महत्या गरेका छन्।
सन्दकपुर गाउँपालिका–१ झ्याउपोखरी बस्ने ४२ वर्षीय बुद्धवीर राईले आफ्नै ६४ वर्षीय दाइ विष्णु राईलाई खुकुरी प्रहार गरेर आफूले आत्महत्या गरेका हुन्।
दाजु विष्णु घर नजिक रहेको आफ्नै बारीमा घाँस काटिराखेको अवस्थामा भाइले आएर एक्कासी खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी हेमन्त भण्डारीले जानकारी दिए।
घाइतेको बाँया आँखाको माथि कञ्चटमा काटिएको र दाहिने कानको छेउमा बाहिरी चोट लागेको छ। घटनालगत्तै पुगेको प्रहरी चौकी बन्दुकेका प्रहरीको सहयोगमा उनको उपचार गर्न इलाम अस्पताल ल्याइएको थियो । इलाममा उपचार सम्भव नभएपछि झापा लगिएको छ। घाइतेको अवस्था गम्भीर छ ।
खुकुरी प्रहार गर्ने व्यक्तिको खोजतलास गर्ने क्रममा घटनास्थलदेखि करिब ३ सय मिटर पर गोगुनको रुखमा झुन्डिएर आत्महत्या गरेको अवस्थामा शव फेला पारिएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ।
शव परीक्षणका लागि इलाम अस्पतालमा ल्याइएको छ। घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
प्रकाशित मिति: सोमबार, असोज ६, २०७६