काठमाडाैं । सरकारले आधारभूत शिक्षा (कक्षा १ देखि ८ सम्म) लाई अनिवार्य र निःशुल्क घोषणा गरेको छ । तर, यो तहमा अध्ययन गर्ने उमेरका तीन लाख चार हजार चार सय ७६ बालबालिका विद्यालयबाहिर रहेको शिक्षा विकास तथा मानवस्रोत विकास केन्द्रले तयार पारेको प्रतिवेदनले जनाएको छ ।
अघिल्लो वर्ष सरकारले तामझामका साथ विद्यालय भर्ना अभियान सञ्चालन गरेको थियो । विद्यालयबाहिरका बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउने उद्देश्य अभियानले राखेको थियो । तर, अझै लाखौँ बालबालिका विद्यालयबाहिर रहेकाले भर्ना अभियान असफल देखिएको छ ।
केन्द्रको ०७५ को तथ्यांकअनुसार आधारभूत तहमा अध्ययन गर्ने पाँचदेखि १२ वर्ष उमेर समूहका छात्राभन्दा बढी छात्र विद्यालयबाहिर छन् । केन्द्रको प्रतिवेदनअनुसार विद्यालयबाहिर रहेका तीन लाख चार हजार चार सय ७६ मध्ये एक लाख ४९ हजार आठ सय एक छात्रा र एक लाख ५४ हजार ६ सय ७५ छात्र छन् ।
प्रदेश २, कर्णाली र सुदूरपश्चिम प्रदेशमा विद्यालयबाहिर रहेका छात्राको संख्या धेरै छ । प्रदेश २ मा ३९ हजार चार सय ३४ छात्रा र ३५ हजार ६ सय ९० छात्र विद्यालयबाहिर छन् । कर्णालीमा छात्रा १५ हजार सात सय ७२ र छात्र १५ हजार दुई सय ५३ विद्यालयबाहिर छन् । सुदूरपश्चिममा १८ हजार पाँच सय १९ छात्रा र १६ हजार सात सय १४ छात्र गरी ३५ हजार दुई सय ३३ बालबालिका विद्यालयबाहिर छन् । नयाँ पत्रिकाले लेखेकाे छ ।
प्रकाशित मिति: सोमबार, असोज ६, २०७६