यस वर्षको दसैंका लागि आज (आइतबार)देखि बसको अग्रिम टिकट बुकिङ खुला हुने भएको छ । यातायात व्यवसायी र सरकारबीच दसैंमा उपत्यकाबाट बाहिरिने यात्रुका लागि टिकट खुलाउने यसअघिको सहमतिअनुसार टिकट बुकिङ खुला हुन गइरहेको हो ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले आइतबारबाट बसको टिकट खुला हुने र शनिबार नै बसपार्कमा रिबन काटेर नागरिक सहायता कक्षको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालद्धारा उद्घाटन गरिएको जानकारी दिए ।
उनले उपत्यकाका १४ स्थानमा नागरिक सहायता कक्ष राखिने पनि बताए । यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालको संयोजकत्वमा २६ भदौमा यातायात व्यवसायीसँग बसेको बैठकले आजबाट टिकट खुलाउने सहमति गरेको थियो । आजको राजधानी दैनिकमा समाचार छ ।
प्रकाशित मिति: आइतबार, असोज ५, २०७६