जितिया पर्व शुक्रबारदेखि सुरु भएको छ । पवित्र नदी तथा जलासयमा स्नान गरी शुद्ध पवित्र बनेका ब्रतालुहरू शनिबार बिहानैदेखि निराहार ब्रत बस्दै छन् ।
व्रत बस्नुअघि आजको दिन महिलाले घिरौँलाको पातमा भगवान् जितमाहन र दिवङ्गत पितृलाई प्रसाद चढाई चिउरा, दही र अमोट (आँपको रसबाट तयार हुने खाद्य पदार्थ) खान्छन् । शनिबार बिहान ४ बजेदेखि निराहार उपवास बसी आइतबार साँझ व्रत सम्पन्न गर्नेछन् । आज नदीमा स्नान गरेर जितमाहनको कथा सुन्ने गर्छन् ।
व्रत बस्नु अघिल्लो दिनमै व्रतालुले विभिन्न जलाशयमा स्नान गरी घिरौँलाको पातमा पिना, सख्खर र तोरीको तेलसहित पदार्थ चढाउनुपर्छ । देवतालाई चढाएकै तेल आ–आफ्ना शाखासन्तानलाई पनि लगाइदिनु पर्छ ।
सन्तानको दीर्घजीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितिया पर्वको धार्मिक, सांस्कृतिक तथा तान्त्रिक महत्व समेत छ । पितृ पक्षमा मनाइने पर्वमा महिलाले आफैँले दिवङ्गत पितृलाई पिण्ड चढाउँछन् भने सन्तानको दीर्घायु तथा सुख संवृद्धिका लागि गरिने यस पर्वको तराई क्षेत्रमा विशेष महत्त्व छ ।
थप तस्विर:
प्रकाशित मिति: शनिबार, असोज ४, २०७६